दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ।
आज दाङको क्षेत्र नम्बर २ बाट उमेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनुभएको हो। महासचिव पोखरेलको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य छन्।

मनोनयन दर्ता पश्चात् संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेलले देश र जनताका लागि आफ्नो उमेदवारी भएको बताउनुभयो। दाङमा मात्रै होइन समग्र मुलुकको सम्वृद्विमा सधैं प्रतिवद्व रहने उहाँको भनाई छ। नेपाली कांग्रेसको जगजगीबीच २०५१ सालमा दाङ क्षेत्र नम्बर ३ बाट कांग्रेसका स्थापित नेता दीपक गिरीलाई पराजित गरेर संसद प्रवेश गरेका थिए।
२०५६ सालको चुनावमा काँग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ को संविधान सभा चुनावमा समानुपातिक सांसद बने । २०७० मा भएको दोस्रो संविधान सभा चुनाव भने उनी काँग्रेस नेता बुद्विराम भण्डारीसँग पराजित बने । २०७४ सालमा प्रदेश सांसदमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए । २०७९ सालमा काँग्रेस(माओवादी गठबन्धनसँग पराजित महासचिव पोखरेल यसपटक जसरी पनि जित निकाल्नुपर्ने दबाबमा छन् ।
उनीसँग दाङ(२ मा काँग्रेसका किरणकिशोर घिमिरे,नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य प्रतिष्पर्धामा छन् ।








प्रतिक्रिया