अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा सदस्य निर्वाचन: २ हजार १७ जनाको उम्मेदवारी दर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचन: २ हजार १७ जनाको उम्मेदवारी दर्ता


काठमाडौं-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा दिउँसो ४ः३० बजेसम्म २ हजार १७ उम्मेद्वारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारी दर्ताका लागि अहिले पनि कागजात बोकेकाहरू लमबद्ध रहेको जनाइएको छ। अहिलेसम्म सामान्यतया शान्तिपूर्ण रूपमै उम्मेदवारी दर्ताका काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयहरूबाट जानकारी आएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो।

देशभरका १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा अहिले उम्मेदवारी दर्ताको कार्यक्रम चलिरहेको पनि उहाँले सुनाउनुभयो। आज बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि नै आह्वान गरिसकेको छ। आज बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि उहाँले सुनाउनुभयो।

यही माघ ७ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ः०० देखि माघ ८ गते बेलुका ५ः०० बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ। माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

यही माघ ९ गते दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।