आसन्न फागुन २१ को संघीय निर्वाचनका लागि सर्वाधिक चासोको क्षेत्र हो झापा-५। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एक पटकबाहेक अपराजित क्षेत्र भएका कारण पनि यस क्षेत्र बढी चर्चामा देखिन्छ। चर्चा हुन थप अर्को कारण हो राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित नेकपा (एमाले)को मूल नेतृत्वमा भर्खरै निर्वाचित अध्यक्ष ओलीले दमकबाटै राष्ट्रिय राजनीतिमा तरंगित सन्देश दिइरहनु भएको छ।
पुरानो र नयाँ दलको भाष्य स्थापित गर्न चौतर्फी स्थापित पुराना दलहरुमाथि आक्रमण गरिरहेको बेला अन्य दलका मूल नेतृत्वहरुले आफ्ना साविक निर्वाचन क्षेत्र परिवर्तन गरिरहेका छन्। झापा–५ बाट निरन्तर विजयी र तीन पटक प्रधानमन्त्री बनिसक्नु भएका ओलीले भने मंगलबार आफ्नै क्षेत्रबाट उम्मदेवारी मनोनयन गर्नुभयो। अध्यक्ष ओलीको यो मनोनयन, राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) स्थापित राष्ट्रिय शक्ति हो भन्ने मूल सन्देश दिएको छ।

अध्यक्ष ओलीदम्पतिले ३० वर्षअघि दमकमा बनाएको घर बेचबिखन भइसकेको थियो। तर, केपी ओलीले बनाएको घर हो, भनेर भदौ २४ मा जेनजीहरुले पुरै खरानी बनाईदिएका छन्। आफ्नो क्षेत्रमा आउँदा बस्ने घर पनि पुरै खरानी छ। भदौ २४ मा प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि अध्यक्ष ओली सोमबार आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा आउनु भएको हो। माघ ६ गते मंगलबार उहाँले दमकमा जलेका निजी तथा सरकारी, पार्टी कार्यालय भवन र संरचनाको अबलोकन गर्नुभयो।
अध्यक्ष ओलीले दमकबाटै देशभरका नेता, कार्यकर्तालाई उत्साहित बनाईरहनु भएको छ। स्थानीय कामाक्ष होटलमा बसेर पार्टीको नेतृत्व हाँकिरहनु भएको छ। विहानै अध्यक्ष ओलीले आफ्नो फेसबुक आइडीबाट सन्देश दिंदै लेख्नुभयो– ‘शुभ विहानी ! हाम्रो लागि आज एक विशेष दिन हो । हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ।’
‘हामीलाई पूरा विश्वास छ, हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। हामी नेपाली सबैको जय होस् !’, उहाँले सन्देशमा भन्नुभएको छ।
झापा-५ को विकासका ‘चेकलिस्ट’ लामै छन्। टोल–टोल, चोक–चोकमा स्थानीयको घेरामा हुनुहुन्छ अध्यक्ष ओली। जलाइएका निजी तथा सरकारी भवनहरुको अवलोकनमा स्थानीय भावुक देखिन्थे। भावुक स्थानीयलाई अध्यक्ष ओलीले भनिरहनुभएको थियो– ‘फेरि बनाउने भनेरै आएको छु। आँशु झार्नु हुँदैन।’

एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवारी दर्ता सँगसँगै भयो निर्वाचन आयोगको कार्यालयमा। तीनै जना स्थानीय उम्मेदवार भएकाले सौहार्दपूर्ण रूपमा ‘गसिप’ चल्यो । जे–जति सामाजिक सञ्जालमा हल्लाखल्ला छ, त्यसको राजनीतिकशास्त्र सतहमा भिन्न छ। अध्यक्ष ओलीको गृह जिल्ला, राष्ट्रिय राजनीतिको मियो दमकमै रहेकाले दमकको पाइला–पाइला चियोचर्चा हुनु स्वभाविक हो।
झापा–५ आफैमा ‘माइग्रेशन’को हब क्षेत्र हो। यस क्षेत्रमा ९० प्रतिशत माथि मतदाता शिक्षित तथ्याङ्कले देखिन्छ। दमक सहरी क्षेत्रमा २३ प्रतिशत जनसंख्याको बसोबास छ। दमकको सहरी क्षेत्र झापा–५ भित्रै पर्छ। त्यसबाहेक बाँकी मतदाता गौरादह नगरपालिका, गौरीगञ्ज, कमल पालिकाकामा पर्छन्। निर्वाचित क्षेत्रमा भएका विकासका उकालो ग्राफ, मजबुद सांगठनिक संरचना, जनसम्बन्धमा देखिने चार्म, राष्ट्रिय राजनीतिको मियो अध्यक्ष ओली हुनुका नाताले अहिले सिङ्गो नेकपा (एमाले) दमकबाटै सञ्चालित छ।
‘भाष्य’ निर्माण गलत कुरालाई स्थापितका लागि गरिने जुक्ति हो। देखिने गरी भएका सत्य चिजलाई भाष्यको जरूरी पर्दैन। झापा–५ मा अध्यक्ष ओलीको यो पटकको उम्मेदवारी, राष्ट्रिय शक्ति जिम्मेवारीपूर्वक राष्ट्र निर्माण र नेपाली जनताका सपना पूरा गर्न तयार हुन्छन् भन्ने मूल सन्देश हो।






प्रतिक्रिया