काठमाडौं-नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगको मनोनयन दर्ता गराउने कार्यतालिका बमोजिम मङ्गलबार एमालेले उम्मेदवारी दर्ता गराएको एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयाे।
उहाँका अनुसार एमालेले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरूले पार्टीका नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा र्यालीसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता जानकारी गराएको हो। उहाँका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ।

यसपाली नेकपा (एमाले)ले अगाडि सारेको सिंगो उम्मेदवार संख्या मध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेका छन्। मधेश र सुदूरपश्चिममा ५०/५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेद्वार नयाँ छन्। सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत छन्। बागमती र गण्डकीमा यो संख्या क्रमशः ६०.६० प्रतिशत र ६१.११ प्रतिशत रहेको छ।
एमालेले यस निर्वाचनलाई हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरूद्धको जनमत संग्रहका रूपमा लिएको हुँदा आजको दिनलाई विशेष दिनका रूपमा लिएको छ। यसै सन्देशका साथ, अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउनुअघि जेनजी आन्दोलनका नाममा विध्वंसकारीहरूबाट जलाइएका झापाका सरकारी तथा व्यक्तिगत घरलगायत भौतिक संरचनाहरूको निरीक्षण र पीडितहरूसँग भेट गरेर आफ्नो निर्वाचन अभियान आरम्भ गरेका छन्।
त्यस्तै उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही–२, गोकर्ण विष्ट–गुल्मी-२ उम्मेदवारी दर्ता गर्नुभएको छ। त्यस्तै उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले लमजुङबाट उम्मेदवारी दर्ता गराउनुभएकाे छ। उपाध्यक्ष गुरुङले लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा आज पुगेर आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो। पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा विसं २०४३ को जनपक्षीय उम्मेदवार बन्दै पटकपटक निर्वाचनमा उम्मेदवार बन्दै आउनुभएको छ।


महासचिव शंकर पोखरेलले दाङ निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनुभएकाे छ। आज दाङ क्षेत्र नम्बर २ बाट उमेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनुभएको हो।
महासचिव पोखरेलको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य रहनु भएको छ।

यस्तै उपमहासचिवहरू लेखराज भट्ट कैलाली क्षेत्र नं. ४ र रघुवीर महासेठ धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएकाे छ।
त्यसैगरी, सचिवहरू भानुभक्त ढकाल तेहथुम, शेरधन राई भोजपुर, डा. राजन भट्टराई काठमाडौं क्षेत्र नं. ४ र महेश बस्नेतले भक्तपुर क्षेत्र नं. २ मा उम्मेदवारी दिनुएकाे छ।
यस्तै, पार्टीका नेता ईश्वर पोखरेल काठमाडौ क्षेत्र नं. ५ बाट उम्मेदवारी दिनुएकाे छ।
नेकपा (एमाले)ले यस निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा मात्रै नहेर्न आम मतदातासँग अपिल र अनुरोध गरेको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानवअधिकारको संरक्षण र प्रवद्र्धन, सामाजिक न्यायसहितको समृद्धिका लागि नेकपा (एमाले)को नेतृत्वमा तय भएका राष्ट्रिय लक्ष्य र आंकाक्षा हासिल गर्न एमालेबाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मतदान गरी विजयी गराउन अपिल पनि गरेको छ ।






प्रतिक्रिया