अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर-२ बाट एमालेका नेता अम्बर रायमाझीको उम्मेदवारी दर्ता

उदयपुर-२ बाट एमालेका नेता अम्बर रायमाझीको उम्मेदवारी दर्ता


उदयपुर-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य अम्बर बहादुर रायमाझीले उदयपुर क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराउनु भएको छ।

नेता रायमाझीले नाराजुलुस र बाजागाजासहित कटारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । नेता रायमाझीको प्रस्तावकमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय कमिटीका संयोजक गजेन्द्र बहादुर खड्का र समर्थकमा कोशी प्रदेश कमिटीका सदस्य गोपालबहादुर खत्री रहनुभएको छ।

 नेता रायमाझीले २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेस, तत्कालिन नेकपा माओबादी र समाजवादी पार्टी मिलेर बनेको गठबन्धनका उमेदवार जगन्नाथ खतिवडालाई पराजित गरेका थिए ।

मनोनयन दर्ता पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता रायमाझीले क्षेत्र नम्बर २ को समृद्धका लागि तयार पारेको रोडम्याप अधुँरो रहेकाले पूरा गर्न उम्मेदवारी दिएको बताउनुभयो। नेता रायमाझीले भन्नुभयो, ‘विकासको हिसाबले पछि परेको उदयपुर क्षेत्र-२ को समृद्धीका लागि ३० महिनाको कार्यकालमा निकै काम गरे पनि रोडम्याप अनुसार अझै धेर काम अधुँरै छन्, ती जनतासँग गरेका वाचा पूरा  गर्न यो पटक पार्टीले  फेरि उमेदवार बनाएको छ।’

विकासको मेररुदण्ड भनेकै सिरहाको मिर्चैया-कटारी-घुर्मि पक्की सडकदेखि लिएर मुर्कुची-माझखर्क-कुनौली-खोटाङ्गको हलेसीसम्म जोड्ने सडक पहिलो प्राथमिकता रहेको नेता रायमाझीले बताउनुभयो। नेता रायमाझीले भन्नुभयो, ‘मुख्य सडकसँगै थुप्रै साना सडकहरुको बजेट विनियोजन गरी ठेक्का प्रकृया अघि बढेका छन्, शिक्षा, स्वास्थ्य, कृषि, उद्यम र रोजगारका क्षेत्रमा पनि उल्लेखिय काम हुँदा हुँदै विचैमा कार्यकाल ब्रेक भयो।’

नेता रायमाझीले कटारी नगरपालिकासहित पाँच वटै स्थानीय तहका ४४ वटा वडा कार्यालय जाने सडक, स्वास्थ्यचौकी, विद्यालय, विजुलीवत्तिको काम सम्पन्न भएको बताउनुभयो। नेता रायमाझीले भन्नुभयो, ‘ कटारी नगरपालिकासहित पाँच वटै स्थानीय तहका ४४ वटा वडा कार्यालय जाने सडक, स्वास्थ्यचौकी, विद्यालय, विजुलीवत्तिको काम सम्पन्न भएको छ, छिटफुट वाहेक खानेपानी योजना पनि सम्पन्न भएका छन्। अबको काम भनेको पक्की सडक, कृषि, स्वास्थ्य र रोजगारी रोडम्याप हुन् ।’

नेता रायमाझीले एमाले संगठन बलियो, इमान्दार कार्यकर्ता, अधुँरो कार्यकाल, योजनाको रोडम्याप र विगतका विकासमा गरेका योगदान नै चुनाव जित्ने मुख्य आधार भएको बताउनुभयो। २०७९ सालमा काँग्रेस-माओवादी-समाजवादी पार्टीको गठबन्धनलाई सजिले पराजित गरेकाले यसपटक कामका आधार र भिजनका हिसाबले चुनाव जित्ने उहाँको दाबी छ।

को हुन् रायमाझी ?

तीन दशक भन्दा बढी नेकपा एमालेको राजनीतिमा क्रियाशील अम्बर बहादुर रायमाझी दोस्रो पटक चुनावी मैदानमा उभिनु भएको छ। २०२६ साल जेठ २ मा जिल्लाको रौतामाई गाउँपालिका-६ मा जन्मिएका रायमाझी हाल वडा नम्बर ७ का स्थायी बासिन्दा हुन् ।

२०४३ सालमा अध्ययनका लागि राजविराज पुगेपछि रायमाझीले अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीति सुरु गर्नुभएको थियो। रायमाझी हाल एमाले काेशी कमिटीको सचिवालय सदस्य हुनुहुन्छ।

पञ्चायती शासन व्यवस्थामा व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने मान्यताका साथ राजनीतिमा सक्रिय भएको रायमाझी बताउनुहुन्छ। ‘क्याम्पसमा त्यतिबेला स्ववियु राजनीतिको प्रभाव थियो त्यसैले संगठनमा आवद्ध भएँ’, रायमाझी भन्नुहुन्छ, ‘मुलत त्यतिवेला समाज परिवर्तन गर्नुपर्छ, व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले राजनीतिमा जोडिएको थिएँ।’

२०४२ सालमा उदयपुरगढीबाट एसएलसी दिएका रायमाझीले स्नातक उत्तीर्ण गरेका छन् । रायमाझीले त्रिभुवन विशवविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । नेकपा एमाले उदयपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र तत्कालीन सगरमाथा–काठमाडौं अञ्चल सम्पर्क कमिटीको कार्यवाहक अध्यक्ष भएर काम गरिसकेका रायमाझी इमान्दार, शालीन, भद्र, पार्टीका वफादार, वैचारिक क्षमता भएका नेता र कुशल नेतृत्वकर्ताको रुपमा स्थापित नेता हुन्।

राजविराजमा विद्यार्थी राजनीति गर्दा गिरफ्तारमा परेका रायमाझीले २०६२/६३ को जनआन्दोलनका क्रममा पनि १९ दिन हिरासतमा बसेका थिए। ‘सम्पर्क मञ्चबाट गतिविधि गर्दैगर्दा पहिलो दिन नै पक्राउ परेको थिएँ’, नेता रायमाझीले भन्नुभयाे, ‘राजाको कालमा पनि गिरफ्तारमा परेको थिएँ।’

नेता रायमाझीसँग रौतामाई गाउँपालिका वडा ७ मुर्कुचीस्थित रौता जनता क्याम्पसको सञ्चालक समितिमा दोस्रो कार्यकाल अध्यक्ष भएर काम गरेको अनुभव छ।