लमजुङ,-नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वी सुब्बा गुरुङले लमजुङमा विकासप्रेमी शक्तिको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।
बेसीशहरमा उम्मेदवारी मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै उहाँले अपार माया, स्नेह र अभूतपूर्व जनउपस्थितिका बीच आफ्नो मनोनयन दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको बताउनुभयो । जनसमर्थन र उपस्थित नागरिकको उत्साहले आफूलाई लमजुङको सेवामा अझ जिम्मेवार र ऊर्जावान् भएर खटिन प्रेरणा मिलेको उहाँको भनाइ छ । ‘बेसीशहरमा उर्लिएको जनसागरले लमजुङमा विकासप्रेमी सूर्य ध्वजावाहकको जित सुनिश्चित छ भन्ने सन्देश दिइसकेको छ,’ उहाँले भन्नुभयो ।
मनोनयनका क्रममा उपस्थित भई हौसला प्रदान गर्ने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ । गुरुङले अबको निर्वाचन अभियान गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्ने उल्लेख गर्दै विगतदेखि वर्तमान र भविष्यसम्म लमजुङको मुहार फेर्ने अभियानमा जनतासँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हिजो पनि साथमा थियौँ, आज पनि छौँ र भोलि पनि लमजुङ परिवर्तनको अभियानमा सँगै हुनेछौँ,’ उहाँले भन्नुभयो ।
नेकपा (एमाले) तर्फबाट लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका गुरुङले विकास, स्थायित्व र समृद्धिलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै चुनावी मैदानमा होमिनुभएको छ ।






प्रतिक्रिया