दमक- झापा-५ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा कार्यकर्ता र मतदातासँग भेटघाटमा व्यस्त रहनुभएको छ।
जेनजी आन्दोलनपछि पहिलो पटक गृह नगर दमक पुग्नुभएका अध्यक्ष ओलीले हिजो मध्यरातसम्म पार्टी कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नुभएको थियो। आज बिहानैदेखि पनि उहाँ अगुवा कार्यकर्ता तथा मतदातासँग भेटघाटमा व्यस्त रहनुभएको छ।
स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै अध्यक्ष ओलीले आफूले अघि सारेका विकास आयोजनाको प्रगतिबारे जानकारी लिनु भएको छ। झापा-५ सँगै सीमा जोडिएको इलाम-२ का नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङ पनि दमक पुग्नुभएको थियो। उहाँले पार्टी अध्यक्ष ओलीको अभियानमा साथ दिइरहनु भएको छ।

मंगलबार राति अध्यक्ष ओलीले दमकका १० वटै वडा कमिटीका पदाधिकारी र सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो। आज बिहानदेखि भेटघाट छलफललाई पुन: निरन्तरता दिनुभएकाे छ।
अध्यक्ष ओली पर्सिसम्म दमकमा रहने कार्यक्रम छ।







प्रतिक्रिया