काठमाडौं-नेकपा (एमाले) का नेता तथा बारा-४ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले निष्ठाको राजनीतिबाटै विकास सम्भव हुने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ। उहाँले इमानदार राजनीति नै दीर्घकालीन विकासको ग्यारेन्टी भएको बताउँदै आफ्नो उम्मेदवारीको मूल आधार निष्ठा र जनसेवा भएको उल्लेख गर्नुभएको हो।
उम्मेदवार श्रेष्ठले राजनीतिमा पद पाउनु मात्र ठूलो कुरा नभई पदमा रहँदा दाग नलाग्नु र जनताको शीर निहुरिन नदिनु नै सबैभन्दा महत्वपूर्ण विषय भएको धारणा राख्नुभएको छ। ‘राजनीति सेवा हो, सौदाबाजी होइन,’ उहाँको भनाइ छ, ‘सत्ताको लोभभन्दा ठूलो कुरा जनताको विश्वास जोगाउनु हो।’
बाराको माटोसँग गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले इमान र निष्ठालाई आफ्नो राजनीतिक यात्राको मूल पूँजी बनाउँदै आएको बताउनुभएको छ। ‘कृषकले खेतमा बाली लगाएझैँ मैले बाराको माटोमा इमानको बाली लगाएको छु,’ उहाँले भन्नुभएको छ।
उम्मेदवार श्रेष्ठले सत्ता र शक्तिको खेलमा कहिल्यै नडगमगाएको दाबी गर्दै जनताको सुख–दुःखमा सधैँ साथमा रहने प्रतिबद्धता दोहोर्याउनुभएको छ। उहाँका अनुसार राजनीतिक स्थायित्व, स्वच्छ छवि र जनउत्तरदायी नेतृत्व बिना विकास सम्भव हुँदैन। ‘मेरो निष्ठा नै मेरो विकासको आधार हो,’ उहाँले दोहोर्याउँदै भन्नुभयो, ‘निष्ठाको राजनीति भयो भने विकास आफैँ पछ्याएर आउँछ।’
उहाँले बारा–४ का मतदातासँग इमानदार, पारदर्शी र जवाफदेही प्रतिनिधित्वका लागि समर्थन माग्नुभएको छ।
एमालेले बारा–४ मा निष्ठा, स्थिरता र विकासलाई मुख्य एजेन्डा बनाएर चुनावी अभियान अघि बढाएको जनाएको छ। उम्मेदवार श्रेष्ठको व्यक्तित्व र राजनीतिक यात्रालाई केन्द्रमा राख्दै पार्टीले ‘निष्ठाको राजनीति, विकासको ग्यारेन्टी’ भन्ने सन्देशसहित मतदातामाझ पुगिरहेको छ।






प्रतिक्रिया