अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य: एमाले उपमहासचिव भट्टराई

संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य: एमाले उपमहासचिव भट्टराई



विराटनगर-नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव योगेश भट्टराईले २०८२ माघ ६ गते उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब निर्वाचन नहुने भन्ने शंका गर्ने कुनै ठाउँ नरहेको बताउनुभएकाे छ।

नेकपा एमाले विराटनगर कमिटीको बिहिबार सम्पन्न विस्तारित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले एमाले पनि पूर्ण तयारीका साथ चुनावमा होमिइसकेको बताउनुभयाे। उहाँले बाँकी दिनहरूमा तीव्र रफ्तारमा चुनावी तयारी अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयाे।

यो निर्वाचन समयअनुसार हुनुपर्ने निर्वाचन भने उपमहासचिव भट्टराईले बताउनुभयाे। संविधानअनुसार २०८४ मंसिरमा हुनुपर्ने चुनाव प्रतिकूल राजनीतिक परिस्थितिका कारण अहिले हुन लागेको उहाँले बताउनुभयाे। ‘यो निर्वाचन कुनै राजनीतिक दल, देश वा संविधानले चाहेको अवस्था होइन,’ उपमहासचिव भट्टराईले भन्नुभयाे, ‘कुनै प्रधानमन्त्रीले संसद् विघटन गरेर निर्वाचनको अवस्था सिर्जना भएको पनि होइन। विशिष्ट राजनीतिक घटनाक्रमपछि देशलाई पुनः संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काउन यो निर्वाचन अपरिहार्य बनेको हो।’

उपमहासचिव भट्टराईले यस निर्वाचनको महत्व विगतका निर्वाचनभन्दा फरक रहेको उल्लेख गर्नुभयाे। २०७४ को निर्वाचन र संविधान निर्माणपछि देश राजनीतिक स्थायित्वतर्फ जाने, समृद्धि र सुखी नेपालीको लक्ष्य हासिल गर्ने नारा एमालेले अघि सारेको स्मरण गराउँदै उहाँले २०७४ र २०७९ दुवै निर्वाचनमा एमालेले तीव्र आर्थिक विकासको एउटै नारा बोकेको बताउनुभयाे ।


उपमहासचिव भट्टराईले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै पटक-पटक राजनीतिक क्रान्तिमाथि धावा बोलिने गरेको बताउनुभयाे । २००७ सालको क्रान्तिपछि २०१७ सालमा ‘कू’ २०४६ सालको जनआन्दोलनपछि माओवादी सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको महत्वाकांक्षाबाट लोकतन्त्र र व्यवस्थामाथि ‘कू’भएको उल्लेख गर्नुभयाे। २०६२/०६३ को आन्दोलनपछि शान्ति प्रक्रिया अघि बढे पनि त्यो दीर्घकालीन हुन नसकेको उहाँको भनाइ छ।

‘अहिले फेरि हाम्रो क्रान्तिमाथि, संविधानमाथि र प्राप्त उपलब्धिमाथि आक्रमण भएको छ,’ उपमहासचिव भट्टराईले भन्नभयाे, ‘किस्ता-किस्तामा राजनीतिक क्रान्तिमाथि धावा बोल्ने शक्तिहरूलाई समाप्त गर्दै एकमुष्ट रूपमा क्रान्तिको रक्षा गर्ने जिम्मेवारी यो निर्वाचनले पूरा गर्नुपर्छ ।’

उपमहासचिव भट्टराईले चुनौतीका घडीमा सधैं एमालेले देश र लोकतन्त्रको रक्षा गर्दै आएको दाबी गर्नुभयाे। ‘नेकपा एमाले नेपाली माटोमा उम्रिएको पार्टी हो । यसको बिउ, मल र संस्कृति सबै नेपाली हुन्,’ उपमहासचिव भट्टराईले भन्नुभयाे, ‘अहिले च्याउसरी उम्रिएका केही पार्टीहरूको बिउ र मल कहाँको हो भन्ने शंका छ ।’

उपमहासचिव भट्टराईले एमाले लड्नुपर्ने बेला लड्ने र जोडिनुपर्ने बेला जोडिन जान्ने पार्टी भएको बताउनुभयाे । ‘बाह्य शत्रुसँग लड्नुअघि पार्टीभित्र एकता आवश्यक छ,’ उपमहासचिव भट्टराईले भन्नुभयाे, ‘त्यो एकता एमालेमा छ र हुनुपर्छ ।’