अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्की–२ बाट एमाले उम्मेदवार बनेका रश्मि आचार्यको प्रतिबद्धता : रवीन्द्र अधिकारीको समृद्धिको सपना पूरा गर्छु 

कास्की–२ बाट एमाले उम्मेदवार बनेका रश्मि आचार्यको प्रतिबद्धता : रवीन्द्र अधिकारीको समृद्धिको सपना पूरा गर्छु 


काठमाडौं-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) को तर्फबाट मनोनयन दर्ता गराउनु भएका रश्मि आचार्यले रवीन्द्र अधिकारीको समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कास्की–२ का मतदातालाई सम्बोधन गर्दै आचार्यले यस क्षेत्रबाट यसअघि निर्वाचित प्रिय नेता रवीन्द्र अधिकारीले कास्कीको विकाससँगै देशमा समृद्धिको एजेन्डा स्थापित गर्न खेलेको भूमिकालाई स्मरण गर्नुभएको छ। रवीन्द्र अधिकारीले देखेको समृद्धिको सपना पूरा गर्न र स्थानीय विकास तथा आम जनसमुदायका मुद्दाहरूलाई वर्तमान सन्दर्भअनुसार संसदमा उठाउन आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ।

आचार्यले भुईँतहका नागरिकले दैनन्दिन रूपमा भोगिरहेका समस्याहरूलाई नीतिगत तथा व्यावहारिक रूपमा समाधान गर्ने, स्थानीय विकासका नयाँ मोडेलहरू बहसमा ल्याउने, स्थानीय स्रोत, साधन र सामर्थ्यलाई नागरिकको समृद्धिसँग जोड्ने तथा मुलुकले भोगिरहेको समग्र सङ्कट समाधानमा भूमिका खेल्ने उद्देश्यसहित निर्वाचनमा सहभागी भएको उल्लेख गर्नुभएको छ।

आफ्नो राजनीतिक पृष्ठभूमि स्मरण गर्दै उहाँले अनेरास्ववियु तथा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेतृत्व गर्दा विद्यार्थी हकहित र अधिकारका पक्षमा गरेका काम सार्वजनिक अभिलेखकै रूपमा रहेको बताउनुभएको छ।

पार्टी र मतदाताको भरोसाको जगमा टेकेर सूर्य चुनाव चिन्हसहित पहिलो पटक कास्की–२ बाट प्रतिनिधि बन्ने अवसर प्राप्त भएको भन्दै उहाँले यसप्रति आभार व्यक्त गर्नुभएको छ। साथै आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी विजयी गराइदिन मतदातासमक्ष आग्रह गर्नुभएको छ।