अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आसन्न निर्वाचन देश बचाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा हो: महासचिव पोखरेल

आसन्न निर्वाचन देश बचाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा हो: महासचिव पोखरेल


दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई “देश जलाउने र देश बचाउने शक्तिबीचको प्रतिस्पर्धा” का रूपमा चित्रण गर्दै युवाहरूलाई देश बचाउने शक्तिको पक्षमा उभिन आग्रह गर्नुभएको छ ।

आज राष्ट्रिय युवा संघ नेपाल दाङले घोराहीमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका महासचिव पोखरेलले पछिल्ला दिनमा बढ्दो लोकप्रियतावाद (पपुलारिजम)ले देशलाई दुर्घटनातर्फ धकेलिरहेको दाबी गर्नुभयो।

महासचिव पोखरेलले समाजलाई विग्रह र विभाजनतर्फ लैजाने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सचेत र संगठित हुन युवालाई आह्वान गर्नुभयो। ‘यो निर्वाचनलाई समान्य रुपमा लिनु हुँदैन। निर्वाचन मुलुकका लागि अत्यन्तै महत्वपूर्ण छ। निर्वाचन देश जलाउने र देश बचाउने शक्तिबीचको प्रतिस्पर्धा हो’, महासचिव पोखरेलले भन्नुभयाे, ‘तपाईँ युवाहरूको काँधमा देश बचाउने जिम्मेवारी रहेको छ। इतिहासले सुम्पिएको यो जिम्मेवारी बहन गर्दै आशन्न निर्वाचनमा देश बचाउने शक्ति नेकपा एमालेको पक्षमा उभिन म युवा साथीहरुलाई आग्रह गर्दछु ।’

महासचिव पोखरेलले षड्यन्त्रलाई चिरेर मुलुकको रक्षा गर्ने जिम्मेवारी एमालेको रहेको उल्लेख गर्दै समाजलाई विभाजन गर्नु भनेको राष्ट्रलाई कमजोर बनाउनु भएको बताउनुभयो। ‘अराजकता र पपुलारिजमबीचको यो प्रतिस्पर्धामा राष्ट्रहितका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्छ,” महासचिव पोखरेलले भन्नुभयाे।

लोकप्रियतावाद लोकतन्त्रको विकल्प नभई अराजकतावादतर्फ धकेल्ने खतरा रहेको उल्लेख गर्दै उहाँले अहिले पुरानो र नयाँ पुस्ताबीच कृत्रिम द्वन्द्व सिर्जना गरी समाज र देशलाई विभाजन गर्ने प्रयास भइरहेको बताउनुभयो ।

“नेपाली समाज सधैं पुस्तागत सहकार्यबाट अघि बढेको हो”, उनले भने, “विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताले मात्रै समृद्धिको बाटो खोल्छ ।”

महासचिव पोखरेलले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि भइरहेका षड्यन्त्रविरुद्ध देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । साथै लोकतन्त्र, शान्ति–सुरक्षा र कानुनी शासनमाथि चुनौती बढ्दै गएको उल्लेख गर्दै राज्यलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरे । युवा संघ दाङका अध्यक्ष विवेक योगीको अध्यक्षतामा भएको भेलाको सहजीकरण प्रदेश इञ्चार्ज देवु बस्नेतले गरेका थिए ।