अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ पार्टीको कुनै गन्तव्य छैन, कहाँ पुग्ने हो थाहा छैन: अध्यक्ष ओली

नयाँ पार्टीको कुनै गन्तव्य छैन, कहाँ पुग्ने हो थाहा छैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) कुनै गन्तव्यबिनाको यात्रा गर्ने पार्टी नभएको स्पष्ट पार्नुभएकाे छ।

एमाले केन्द्रीय कार्यालय च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्व केन्द्रीय सदस्य शेयर लगानीकर्ता दीपेन्द्र अग्रवालसहित विभिन्न व्यक्तिहरूको एमाले प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले स्पष्ट उद्देश्य र गन्तव्य बोकेको पार्टी भएको बताउनुभयाे।

अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई एमालेले आफ्नो मुख्य गन्तव्य बनाएको उल्लेख गर्दै भन्नुभयाे, ‘नेपाल समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भन्ने राष्ट्रिय आकांक्षाको विरोध जसले गरे पनि यो हाम्रो साझा लक्ष्य हो । त्यसैले हामीले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाएका छौँ।’

अध्यक्ष ओलीले देशको रक्षा, जनताको सफल भविष्य र सन्ततिका उज्वल भविष्यका लागि धेरै नागरिक एमालेमा प्रवेश गरेको उल्लेख गर्नुभयाे । अध्यक्ष ओलीले एमाले अन्य पार्टीजस्तो उद्देश्यहीन नभएको दाबी गर्दै भन्नुभयाे, ‘नेकपा (एमाले) ट्रेडमिलमा यात्रा गरेजस्तो गर्ने पार्टी होइन । गन्तव्यमा पुग्नका लागि यात्रा गर्ने पार्टी हो ।’

अन्य केही राजनीतिक दलतर्फ संकेत गर्दै अध्यक्ष ओलीले गन्तव्यविहीन राजनीति भइरहेको टिप्पणी गर्नुभयाे। अध्यक्ष ओलीले नयाँ पार्टीहरुलाई नारायण गोपालको गीत सम्झिँदै भन्नुभयाे, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो की होइन केही थाहा छैन।’

अध्यक्ष ओलीले नयाँ भन्नेहरूले आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ति जनाउनुभयाे। उहाँले अहिले देश बनाउने र जलाउनेबीचको लडाइँ चलिरहेको बताउनुभयाे।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘अहिले नयाँका नाममा आएका धेरै पार्टीहरूको गन्तव्य छैन। कहाँ पुग्ने भन्ने थाहा छैन। केका लागि कुदिएको हो, केका लागि काम गरिएको हो भन्ने पनि स्पष्ट छैन । उहाँहरुको यात्रा त्यस्तै हो भोलि उठी कहाँ जाने त्यो पनि थाहा छैन, के को लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाहा छैन । के का लागि काम गर्दैछु त्यो पनि थाहा छैन । त्यस्तो पार्टी होइन नेकपा एमाले ।’