अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले षड्यन्त्र र अपमान गर्‍यो, चुनाव छाडेर सङ्घर्षमा जानु पर्ने स्थिति पनि आउन सक्छ: एमाले अध्यक्ष ओली

सरकारले षड्यन्त्र र अपमान गर्‍यो, चुनाव छाडेर सङ्घर्षमा जानु पर्ने स्थिति पनि आउन सक्छ: एमाले अध्यक्ष ओली


काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताउनुभएकाे छ। गृहजिल्ला झापाबाट शुक्रवार काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गर्ने काम गरेको अध्यक्ष ओलीले बताउनुभयाे।

शनिबार एमाले केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि गरिएको सो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको अध्यक्ष ओलीले बताउनुभयाे । 

अध्यक्ष ओलीले वर्तमान सरकारले एमालेविरुद्ध गम्भीर षड्यन्त्र गरिरहेको आरोप लगाउँदै परिस्थिति चुनावमा मात्रै सीमित नरही सङ्घर्षतर्फ पनि जान सक्ने अवस्था सिर्जना हुनसक्ने चेतावनी दिनुभयाे। उहाँले चुनावमा जाने कि आन्दोलनमा जानुपर्ने भन्ने विषय अझै निश्चित भइनसकेको उल्लेख गर्नुभयो।

चुनावी प्रक्रिया अघि बढिसकेकाे भए पनि अन्तिम अवस्थामा आन्दोलन रोज्नुपर्ने अवस्था आउन सक्ने संकेत गर्दै उहाँले वर्तमान परिस्थिति अझै स्पष्ट नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारको नियत नै नेताहरूलाई अपमानित गर्ने रहेको बताउँदै त्यसको उदाहरण पछिल्लो घटनाले देखाएको बताउनुभयो। ‘बेथिति र अन्याय भइरहेको छ, सरकार आफैँ अपमान र दुःख दिने काममा लागेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यो जिम्मेवार सरकार होइन, अराजनीतिक र असभ्य सरकार हो।’

अध्यक्ष ओलीले हरेक निर्वाचनअघि ‘एमाले सकियो’ भन्ने हल्ला नियोजित रूपमा फैलाइने गरेको उल्लेख गर्दै चुनावपछि भने एमाले नै सरकार बनाउने अवस्थामा पुग्ने गरेको दाबी गर्नुभयो। ‘लोकतान्त्रिक पार्टी सकियो, एमाले कमजोर भयो भनेर बारम्बार हल्ला चलाइयो, तर एमाले कहिल्यै कमजोर भएन,’ उहाँले भन्नुभयो।

उहाँले एमालेले राम्रो काम गरिरहेकै बेला पटक–पटक गलत ढङ्गले हटाउने प्रयास भएको बताउँदै वर्तमान अवस्थामा देशका संरचना ध्वस्त बनाइएको टिप्पणी गर्नुभयो। एमाले सरकारमा पुगेपछि पुनर्निर्माण गर्दै देशलाई विकास, शान्ति र सुशासनको बाटोमा अघि बढाइने उहाँको भनाइ छ।

अध्यक्ष ओलीले  एकपटक आफूहरुलाई झुक्याइएको उल्लेख गर्दै देशमा यति धेरै ध्वंस र अपराध हुने कल्पना नै नगरेको बताउनुभयो। ‘नेपालीहरूले यति धेरै ध्वंस र अपराध गर्छन् भन्ने हामीले सोचेकै थिएनौँ,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले नेकपा (एमाले) देश र जनताको हितमा काम गर्ने पार्टी भएको उल्लेख गर्दै पार्टीलाई साथ दिन आम नागरिकलाई आग्रह गर्नुभयो।