निर्वाचन क्षेत्र नं -४
उद्योग व्यावसाय, समाजसेवा, राजनीति । यी तीनवटै जिम्मेवारी नम्बर अनुसार नै समाजमा उहाँको छबि निर्माण भएको छ । छोटकरीमा उहाँलाई ‘एलपी साँवा’ भन्दा छिटो पहिचान खुल्छ । पुरा नाम थर लाल प्रसाद साँवा लिम्बु हो । ताप्लेजुङको मेवाखोलामा ५८ वर्षअघि जन्मिनु भएका साँवा लिम्बु परिवारसहित ३० को दशकमा झापा, शिवसताक्षी बसाई सर्नुभयो । झापा जिल्लामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीपछि सर्वाधिक उम्मेदवार बन्ने अवसर साँवा लिम्बुले नै पाउनु भएको छ ।
झापा–४, अध्यक्ष ओलीको क्षेत्र–५ सँगै जोडिएको क्षेत्र हो । त्यसैले सर्वसाधारण भन्ने गर्छन्– ‘पश्चिम केपी, पूर्व एलपी ।’ २०७० मा थोरै मतले पराजित, २०७४, २०७९ मा निरन्तर भारी मतसहित विजयी । आगामी फागुन २१ को चुनावमा पनि साँवा लिम्बुले एमालेतर्फबाट झापा–४ बाटै उम्मेदवारी पाउनु भएको छ ।
सफल उद्योगी÷व्यावसायी, समाजसेवी र राजनीति । एकसाथ अघि बढ्नुमा एक दर्दनाक घट्नाले साँवा लिम्बुको जीवनमा एकाएक नयाँ मोड लियो । घट्ना २०६३ माघ १६ गते ११ बजेको हो– ‘काठमाडौं शंखपार्क नजिक नेपाल वैदेशिक रोजगार व्यसायी संघका अध्यक्ष एलपी साँवा लिम्बुमाथि गोली प्रहार’ भनेर सनसनी खबर फैलियो ।
‘तपाईंमाथि गोली प्रहार भएको हो ? भनेर पहिलो कल मैले गरेको थिएँ । तपाईंले बाँचेको छु भन्नु भएको थियो, सम्झना छ ?’, झापा शिवसताक्षी निवासमा पंक्तिकारको जिज्ञासाप्रति उहाँले भन्नुभयो– ‘हो नि हौ ! जीवनको त्यो घट्नापछि समाजसेवा र राजनीतिमा सक्रिय हुने नयाँ उर्जा मिल्यो ।’

साँवा लिम्बुले भन्नुभयो– ‘यो मेरो फाउको जिन्दगी हो नि ! हाम्रो पूर्वमा फाउ भनेको पसलमा केही सामान किन्न गयो भने पसलेले किनेको सरसमान भन्दा केही थपिदिने चलन छ, त्यसलाई फाउ भन्छौं । मेरो जिन्दगी त्यही हो । त्यो कहाली लाग्दो घट्नाबाट बालबाल बाँचे । यो फाउको जिन्दगी भएकाले व्यावसायमा थप लगानी, समाजसेवा र राजनीति गर्ने मलाई नयाँ ऊर्जा मिल्यो ।’
ठट्टौली शैलीमा साँवाले भन्नुभयो– ‘समाजसेवा बढि र राजनीतिज्ञ अलिक कम हूँ कि जस्तो लाग्छ ।’ निर्वाचन आचारसंहिता लागू हुनुअघिसम्म यसवर्षको जाडोयाममा २५ सय विद्यार्थीहरुलाई न्यानो कपडा बाँडिसक्नु भएको थियो । आचारसंहिताका कारण थप न्यानो कपडा बाँड्न पाउनु भएको छैन । यो क्रम साँवा लिम्बुको वर्षेनी हो । झापा गाउँपालिकामा त्रिभुवन आधाभूत विद्यालयमा ६ जना र डिल्लीराज माविमा ६ जना १२ जनाको अविभावकत्व साँवा लिम्बुले गरिहनु भएको छ ।
आफ्ना क्षेत्रका दीनदुःखीको सेवा, मुटु रोगीको निःशुल्क उपचार, वैदेशिक रोजगारीमा जानेहरुका लागि निःशुल्क जाने व्यवस्थाको पहल साँवा लिम्बुले गरिदिनु हुन्छ । ‘दुःखी, गरिबको सेवा गर्दा आनन्द आउँछ । त्यही भएर समाजसेवामा बढि रमाउँछु । उनीहरुले धन्यवादसहित माया पनि उत्तिकै गर्छन् । झापा–४ बाट निरन्तर २ पटक जनप्रतिनिधि निर्वाचित हुनुमा राजनीति र समाजसेवाको गजबको संयोग हो’, उहाँले भन्नुभयो ।
उद्योग÷व्यावसायको सन्र्दभमा साँवा लिम्बुले बुधबार बिहान मोवाइलमा झापा इनर्जी लिमिटेडको शेयर बजार हेर्नुभयो । बुधबार विहान झापा इनर्जी लिमिटेडको बजार पुँजीकरण पाँच अर्ब बढि पुगेको थियो । शिवसिताक्षी–४ स्थित मुलुककै पहिलो १० मेघावाटको सौर्य ऊर्जा उत्पादन गरिरहेको झापा इनर्जी लिमिटेड २०७८ मा सुरु भई २०८० मा सम्पन्न भएको थियो ।
साँवा लिम्बुको नेतृत्वमा रहेको झापा इनर्जीमा सुरुवाती दिनमा हजार बढि सर्वसाधारणले शेयर लगानी गरेका थिए । सोलार पावर प्लान्ट सम्पन्न गर्दा ८७ करोड रुपैयाँ लगानी भएको थियो । ‘गत मंसिरदेखि प्राथमिक शेयर जारी गरिएको हो । आजको दिनमा सूर्यको ताप बेचेर बजार पुँजीकरण पाँच अर्ब बढि पुगेको छ । सबै भन्दा पहिले मानसिक रूपमा समृद्ध हुनुपर्ने रहेछ’, उहाँले भन्नुभयो– ‘अब पर्यटन सम्बन्धी अर्को मेघा परियोजना तयार गर्दैछु ।’
…..
विकासका लहरहरू
झापा–४ मा शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिकाको ८ र ९ वडा बाहेक, गौरादह नगरपालिको वडा–९, गौरीगञ्ज गाउँपालिकाको १ र २, झापा गाउँपालिका समेटिएको छ । यसअघि साँवा लिम्बुले २९ हजार ३ सय १५ मत प्राप्त गर्नुभएको थियो ।
भौतिक पूर्वाधार विकासको लामै लिस्ट तयार पार्नुभएको छ साँवा लिम्बुले । एसियन हाइवेदेखि दक्षिणी क्षेत्र हुलाकी राजमार्ग जोड्ने सताक्षीधाम–झिलझिले– हल्दवार चोक– जनता– विष्णुचोक, देवीगाडा, चौरी हुँदै होक्कलवाडीसम्म जोड्ने २७ किलोमिटर बाटो पुरै कालोपत्रे सम्पन्न भइसकेको छ ।
त्यसैगरी अमरपथमार्ग– सुरुङ्गा– शर्णामति– कामाटोली– झापा बजार– लशुना हुँदै भारतको सीमा क्षेत्र डिगलबैंगसम्म २९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । यी कार्य साँवा लिम्बुले दुई कार्यकालमा सम्पन्न गर्नुभएको हो ।
कन्काई नगरपालिकाको दुर्गापुर बजार उत्तर हुँदै ईलामाको दानावारी सडक खण्ड कालोपत्रे सम्पन्न भइसकेको छ । कोटिहोम– सहिद लक्ष्मी पाण्डे– दक्षिण मनोकामना चोक हुँदै हनुमान चोकसम्म सडक खण्ड कालोपत्रे सम्पन्न भएको छ । झापा गाउँपालिका शर्णामति खालिङ्ग चोक दक्षिण पन्तापडा सडक खण्डको ९ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । झापा गाउँपालिकाकै लशुना लशुनगञ्ज सडक खण्ड सम्पन्न भएको छ ।
रणनीतिक सडक मध्ये शिवसताक्षी– शिवगञ्ज बजार, हल्दवार चोक, हिमाली चोक, धरमपुर मङ्लवारे सडक खण्ड कालोपत्रे धमाधम भइरहेको छ । शिवगञ्ज दक्षिण आमवाडी, जनता चोक, सालमारा, बोलोचोक सडक खण्ड कालोपत्रे निर्माण कार्य जारी छ । साविक बैगुनधुरा, पाँचगाछी, तोपगाछी जोड्ने सानो कमलखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । सडक कालोपत्रे गरिएपछि झापा–४ को २८ वटै वडालाई सडक सञ्जालले जोडेको छ ।
गौरीगञ्ज–२ को कोरोवारी, तुलाचन, टटुवावाडी हुँदै बाघा चौधरी सडक खण्ड खण्ड कालोपत्रे सम्पन्न भएको छ । गौरीगञ्ज–
१, कमल बनायानी नदीमा झोलुङ्गे पुल साँवा लिम्बुले आफ्नै कार्यकालमा सम्पन्न गर्नुभएको छ । जुन पुललाई भाइरल पुलको नामले समेत चिनिन्छ । शिवगञ्ज–मदारगाछ जोड्ने कन्काई नदीमा पक्की पुलको ८० प्रतिशत काम भइसकेको छ ।
कृषितर्फ यस क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूल, माछा, मासु झापा जिल्लाभर कहलिएको छ । जसलाई व्यवस्थित बजारका लागि शिवसताक्षी–६ मा विशाल कृषि भण्डारणको निर्माण साँवा लिम्बुकै पहलमा सम्पन्न भएको छ । कृषि उत्पादन बढाउनका लागि सिँचाई नभएका जमिनमा डिप वोरिङ्ग मार्फत सिँचाई सुचारु समेत गरिएको छ ।
स्वास्थ्यतर्फ शिवसताक्षी–६ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शैयाको नगर अस्पतालको भौतिक संरचना निर्माण भइसकेको छ । अस्पतालबाट सेवा प्रवाह भएपछि चारवटा पालिकाका जनता लाभावानित हुने छन् । झापा गाउँपालिकाको टागनडुब्बामा ५ शै्या र कन्काईमा १५ शै्याका नगर अस्पताल पनि सावा लिम्बुकै पहलमा सम्पन्न भएको छ ।
शिक्षातर्फ शिवसताक्षीको जनआदर्श मावि, कन्काईको कन्काई मावि, झापाको डिल्लीराज माविलाई नमूना विद्यालयका रुपमा सुविधा सम्पन्न भवनहरु निर्माण गरिएको छ । जहाँबाट हजारौंै विद्यार्थीले गुणस्तरीय शिक्षा लिइरहेका छन् । साथै राष्ट्रपति शैक्षिक सुधार र स्थानीय पूर्वाधार विकास कोषको सहयोगमा यस क्षेत्रका धेरै विद्यालयहरुमा ४ कोठे र २ कोठे भवनहरु निर्माण गरिएको छ ।
नदी नियन्त्रणतर्फ बिरिङ, कन्काई, कमल बनायानी, सताक्षी नदी कटानलाई नियन्त्रण पछि जनताले राहतको महसुस गरेका छन् । थप तटबन्धन कार्य जारी रहेको छ । खानेपानीतर्फ सफा, स्वस्थ्य खानेपानीका लागि पानी भण्डारणका लागि आवश्यकता अनुसार विभिन्न टोलहरुमा ट्याङ्की निर्माण कार्यसँगै पानी वितरण कार्य भइरहेका छन् ।
व्यावसायिक साझेदार, क्षेत्रको भौतिक पूर्वाधार विकास, पर्यटन विकासको लागि परसम्मको सोच साँवा लिम्बुको रहर लाग्दा योजनाहरु छन् । विकास, समृद्धि भन्ने विषय भौतिक पूर्वाधारले मात्रै नपुग्ने उहाँले अनुभव सुनाउनु हुन्छ । ‘विकास र समृद्धि भौतिक पूर्वाधारले मात्रै हुँदैन । पहिलो नेतृत्वको सोच हुनु प¥यो । दोस्रो चेतनामा समृद्धि हुनुप¥यो । तेस्रो विकासमा न्यायिक समानता र सर्वधारणको पहूँच हुनु प¥यो । जुन कुरा मैले यस क्षेत्रमा व्यवहारिक रुपमै देखाएको छु’, साँवा लिम्बुले भन्नुभयो ।






प्रतिक्रिया