रामेछाप- नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव ढुङ्गेलले राजनीति मनोरञ्जनको विषय नभई देश चलाउने गम्भीर जिम्मेवारीको क्षेत्र भएको स्पष्ट पार्नुभएको छ।
आइतबार नेकपा एमाले गोकुलगंगा गाउँपालिका कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले रामेछापका इञ्चार्जसमेत रहनु भएका ढुङ्गेलले नेकपा एमाले ले सभ्य समाज निर्माणका लागि केन्द्रित रहँदा पनि पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताउनुभयो। उहाँका अनुसार सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा एमालेमाथि आक्रमण तीव्र बनाइएको छ।
‘हामीमाथिको आक्रमण तीव्र बनाइएको छ, त्यसैको परिणति भदौ २३ र २४ को विध्वंस हो,’ ढुङ्गेलले भन्नुभयो।
भदौ २३ र २४ का घटनालाई जोड्दै उहाँले एमाले नेतृत्वको शिर छेदन गर्ने प्रयास भएको दाबी गर्नुभयो। त्यस्ता गतिविधिको सिङ्गो पार्टी पङ्क्तिले एकताबद्ध भएर प्रतिवाद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत नेपालका ऐतिहासिक तथा राष्ट्रिय धरोहर नेपाली युवाले आफैँ जलाउन नसक्ने बताउँदै उहाँले संविधान, लोकतन्त्र र गणतन्त्र समाप्त गर्न चाहने शक्तिको इसारामा ती घटनाहरू घटाइएको आरोप लगाउनुभयो। ‘हाम्रो सरकार भएकाले नैतिक रूपमा लिनुपर्ने जिम्मेवारी नेकपा एमालेले लिन्छ, तर भदौ २३ र २४ का घटना गराउने अपराधीहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो।
राजनीतिक स्थायित्व र शान्ति, आर्थिक विकास र समृद्धि, सामाजिक न्याय र समानता, राष्ट्र र राष्ट्रिय स्वाभिमान, सुशासन र पारदर्शिताको एजेण्डा स्थापित गर्न एमाले नेतृत्व आवश्यक रहेको ढुङ्गेलको भनाइ छ। नयाँ पुस्ताको माग सम्बोधन गर्न पनि एमाले नै आवश्यक रहेको उहाँले दाबी गर्नुभयो।
आज पार्टीलाई गाली गरेर रमाइलो लिने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालबाट प्राप्त क्षणिक लोकप्रियतालाई राजनीतिमा प्रयोग गर्न खोज्नु दिगो नहुने धारणा राख्नुभयो। ‘राजनीतिलाई मनोरञ्जनको थलो बनाउने प्रयास भइरहेको छ, तर राजनीति मनोरञ्जनको थलो होइन, यो देश चलाउने थलो हो,’ उहाँले स्पष्ट पार्नुभयो।
हरेक व्यक्तिको आफ्नै विधा हुने उल्लेख गर्दै ती–ती विधामा लोकप्रियता कमाएका व्यक्ति राजनीतिमा पनि स्वतः सफल हुन्छन् भन्ने सोच गलत भएको उहाँको भनाइ छ। यस्तो प्रवृत्तिले समाजलाई हिंस्रक र अराजकतातर्फ धकेलिरहेको ढुङ्गेलले बताए।
देशको सार्वभौमिकता, स्वतन्त्रता, विकास र समृद्धिको पक्षमा उभिएकै कारण एमाले माथि निरन्तर आक्रमण भइरहेको बताउँदै उहाँले लोकतन्त्रको नायक पार्टीमाथि एकतर्फी आक्रमण भइरहेको आरोप लगाउनुभयो। ‘बनाउने र ध्वंस गर्नेबिच प्रतिस्पर्धा भइरहेको छ, नेपालको अस्मिता जोगाउने र समाप्त पार्नेबिच लडाइँ भइरहेको छ,’ उहाँले भन्नुभयो।
संसद् नीति निर्माण गर्ने थलो भएको उल्लेख गर्दै ढुङ्गेलले देशका लागि उपयुक्त कानुन निर्माण गर्न आफू संसदमा जान चाहेको बताउनुभयो। नागरिकका दुःख–सुखमा सधैँ साथ रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
चुनावलाई युद्धको संज्ञा दिँदै उहाँले युद्धमा दक्ष र योग्य सिपाही भए जति सजिलै जित हासिल गर्न सकिने धारणा राख्नुभयो। निर्वाचन पार्टीका नेता–कार्यकर्ताको परीक्षा भएको भन्दै त्यसका लागि तयार रहन उहाँले आग्रह गर्नुभयो।






प्रतिक्रिया