काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किजमको मिलनले राज्यलाई कमजोर बनाउँदै नागरिकलाई विभाजित गर्ने खतरा रहेको बताउनुभएको छ । उहाँका अनुसार सरल उत्तर बेच्ने पपुलिजम र व्यवस्था नै दुश्मन ठान्ने एनार्किजम एक–आपसमा मिसिँदा लोकतान्त्रिक राज्य संरचना नै संकटमा पर्न सक्छ ।
पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्छ, एनार्किजमले व्यवस्था नै दुश्मन ठान्छ, दुवै मिल्दा राज्य कमजोर हुन्छ, नागरिक विभाजित हुन्छन्ु, उहाँको धारणा छ ।
महासचिव पोखरेलले देशलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच, तथ्य र भावनाबीच स्पष्ट भिन्नता तथा लोकतान्त्रिक विधिमै असहमति अभिव्यक्त गर्ने संस्कार आवश्यक रहेको बताउनुभयो । ‘राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो, संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु हो,’ उहाँले उल्लेख गर्नुभयो ।
महासचिव पोखरेलका अनुसार अहिलेको मुख्य समस्या राजनीतिक अस्थिरता र सामाजिक अराजकतामा केन्द्रित छ । ती समस्याको समाधानका लागि बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको खाँचो रहेको उहाँको भनाइ छ । उहाँले निर्वाचनलाई त्यही उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो ।
अन्तर्राष्ट्रिय सन्दर्भ उल्लेख गर्दै महासचिव पोखरेलले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्वव्यवस्थालाई नै खल्बलिएको बताउनुभयो । संयुक्त राष्ट्र संघसहितका विश्व संस्थाहरू उपेक्षित बन्दै गएको र विश्वव्यापी रूपमा सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको रक्षा संवेदनशील बन्दै गएको उहाँको धारणा छ ।
यस्तो अवस्थामा नेपाललाई भूराजनीतिक द्वन्द्वको असरबाट जोगाउन समयमै सचेत हुनुपर्ने महासचिव पोखरेलले जोड दिनुभयो । ‘बंगलादेश वा युक्रेन बन्न नदिनु भनेको डर फैलाउनु होइन, समयमै चेतावनी दिनु हो,’ उहाँले भन्नुभयो ।
महासचिव पोखरेलका अनुसार यही चेतनाको निरन्तरता नै आजको सबैभन्दा ठूलो देशभक्ति हो ।






प्रतिक्रिया