काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल भर्ना हुनु भएको छ ।
गत माघ ५ गते जनकपुरमा भएको सभाका क्रममा खुट्टामा लागेको चोटको उपचारका लागि लामिछाने शिक्षण अस्पतालमा भर्ना हुनु भएको हो ।
रविको सचिवालयका अनुसार सुरुमा सामान्य देखिएको चोट बढ्दै गएर हाल छालाको भित्री तहमा संक्रमण भएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूको परीक्षण र सल्लाहअनुसार भर्ना गरिएको सचिवालयको भनाइ छ । केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखेर उपचार गराउनुपर्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
‘चोट आफैँमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ’ सचिवालयले भनेको छ ।
अन्य बिरामीको उपचारमा असर नपरेर र अस्पताल प्रशासनलाई असहज नहोस् भनेर भेटघाटका लागि अस्पताल नआइदिन रविका स्वकीय सचिव अविनाश आचार्यले अनुरोध गर्नुभएको छ ।
जनकपुरको सभामा भाग लिएर चितवन आएदेखि रवि एकाएक गुमनाम बनेका थिए ।






प्रतिक्रिया