रामेछाप, माघ १४ । रामेछापबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नु भएका माधव ढुङ्गेल यतिबेला घरदैलो अभियानमा सक्रिय रहनु भएको छ ।
ढुङ्गेल घर–घरमा पुगेर मतदातासँग भेटघाट गर्दै आफ्ना योजना र धारणा राख्दै जानु भएको नेकपा एमाले रामेछाप प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार नयाँ, ऊर्जाशील र राजनीतिक अनुभवसमेत हासिल गर्नु भएका आशालाग्दा युवा उम्मेदवारका रूपमा ढुङ्गेलप्रति मतदाताको आशा र भरोसा क्रमशः बढ्दै गएको छ । श्रेष्ठका अनुसार ढुङ्गेलप्रति मतदाताको अपेक्षा र विश्वास उच्च देखिएको छ ।
हाल उहाँ जिल्लाको उत्तरी भेग, लिखु नदी किनारका क्षेत्रका मतदातासँग भेटघाटमा व्यस्त रहनु भएको छ । बिजुलीकोट, सैपु, भुजी, प्रीति लगायतका बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुका साथै पार्टीका आन्तरिक बैठकहरूमा पनि उहाँ सक्रिय रहनु भएको छ ।
यसैबीच ढुङ्गेलले नेकपा एमाले उमाकुण्ड गाउँपालिका कमिटीको बैठकमा सहभागी भई स्थानीय तहबाट आएका सुझावहरू संकलन गर्नु भएको छ । बैठकमा पार्टी केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश सभा सदस्य तथा प्रदेश कमिटी सदस्य आनन्द श्रेष्ठ, प्रदेश कमिटीका अन्य सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, सचिव प्रकाशकुमार कार्की लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
बैठकमा प्रदेश कमिटी सदस्य तथा उमाकुण्ड गाउँपालिका कमिटी अध्यक्ष शेरबहादुर सुनुवारले उमाकुण्ड क्षेत्रको विकास, समृद्धि, सुशासन र युवा उद्यमशीलतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तय गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको थियो । उहाँले कृषि, पर्यटन, जलविद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी नीति र कानुन निर्माण गर्न सुझाव दिनु भएको थियो । साथै संघ र प्रदेश तहको बजेट विनियोजनमा कानुनले नै स्पष्ट मापदण्ड तय गर्नुपर्ने उहाँको भनाइ थियो ।
बैठक तथा भेटघाटका क्रममा प्राप्त सुझावहरू आफू निर्वाचित भए पश्चात् प्रतिनिधि सभामा सशक्त रूपमा उठाउने र त्यसको कार्यान्वयनका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने ढुङ्गेलले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
यसैबीच नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटीले पनि चुनाव केन्द्रित अभियानलाई निरन्तरता दिएको छ । पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यले खाँडादेवी गाउँपालिका वडा नं. ४ पकरबासमा सम्पन्न बैठकले वडा कमिटी अध्यक्ष दीपक मानन्धरको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको गाउँपालिका कमिटी अध्यक्ष मोतीलाल तामाङले जानकारी दिनु भयो ।
नेकपा एमालेले जिल्लाभर संगठित रूपमा चुनावी गतिविधि अघि बढाउँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको जनाएको छ ।






प्रतिक्रिया