काठमाडौं -सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले शैक्षिक सुधारका लागि सुरु गरेको अभियान अब अर्को चरणमा प्रवेश गरेको छ । नगरपालिकाले ५८ वटै विद्यालयका प्रधानअध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेपछि यो अभियान कार्यन्वयनको चरणमा प्रवेश गरेको हो । नगरप्रमुख मोहनमाया ढकालको उपस्थितीमा नगर शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख धीरेन्द्रप्रसाद शर्माले करार सम्झौता गर्नुभएको हो । २६ बुंदे उक्त सम्झौतामा आगामी दशकसम्ममा नगरपालिकालाई उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्ने गरी यसैवर्ष देखि काम गर्ने उल्लेख छ ।
नगरपालिकाले गत कात्तिकमा कार्यविधि बनाएर प्रअ व्यवस्थापन,दरबन्दी मिलान र विद्यालय समायोजन लगायतका शैक्षिक सुधारका लागि काम सुरु गरेको थियो । केही शिक्षकहरुले यो प्रक्रियाको सुरुमा आलोचना गरे पनि पछि यसको प्रभावकारी कार्यन्वयनमा सबै सहमत भएका थिए ।
कार्यसम्पादन सम्झौता गर्न नगरपालिका आएका प्रधानअध्यापकहरुलाई प्रमुख ढकालले शिक्षा सुधार गर्न सके पुस्ता नै सुधार हुने बताउनुभयो । उहाँले वीरेन्द्रनगर सिंगो कर्णालीको नेतृत्व गर्ने नगरपालिका भएकोले यहाँका हरेक गतिविधि अनुकरणीय हुनुपर्ने बताउनुभयो । यहाँका शिक्षकको लगानशिलता,अध्यापन शैली,प्रविधि मैत्री सीपले विद्यार्थीको मात्र हैन शिक्षकको पनि गुणस्तर बढ्ने बताउनुभयो । कुनै पनि विद्यालयले कार्यसम्पादन सम्झौता कार्यन्वयन गर्ने क्रममा कुनै प्राविधिक वा भौतिक कठिनाइ भोगमा तत्काल नगरपालिका जानकारी गराए त्यसको समाधाको पहल गरिने उहाँले प्रतिवद्धता जनाउनुभएको छ । कार्य सम्पादन सम्झौता नगरको शिक्षा सुधारको दस्तावेज मात्र नभइ पुस्ता सुधारको समेत दस्तावेज भएको उहाँले बताउनुभयो ।
उपस्थित प्रधानअध्यापकहरुले आफूहरु यो सम्झौता कार्यन्वयन गर्न सकारात्मक भएको र यसको कार्यन्वयन गर्न सक्ने आकंलन गरेपछि सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको बताएका छन् । उनीहरुले नगरपालिकाको नियमित अनुगमनले आफूहरुलाई सम्झौता कार्यन्वयनका लागि थप हौसला प्राप्त हुने बताएका छन् ।






प्रतिक्रिया