झापा- झापाको कमल गाउँपालिका–६ स्थित रतुवा खोलाको किनारमा रहेको खयरबारी टोल कुनै समय बाढीको स्थायी त्रासमा बाँचिरहेको बस्ती थियो । अघिल्लो दशकसम्म वर्षायाम लाग्नेबित्तिकै यहाँका बासिन्दाको रात निद्रामा बित्दैनथ्यो । ‘आज राति कतिखेर रतुवा उर्लिएर घर पस्छ रु’ भन्ने चिन्ता हरेक घरमा उस्तै हुन्थ्यो । बाढी आएपछि भागेर सुरक्षित स्थानमा पुग्ने राम्रो बाटो पनि थिएन । कच्ची बाटो हिलाम्यै हुन्थ्यो, पानीले डुबाउँथ्यो, साना बालबालिका, वृद्ध र महिलालाई झन् जोखिमपूर्ण अवस्था सिर्जना हुन्थ्यो ।
स्थानीयका अनुसार रतुवाको बाढीले पटक–पटक खेतीयोग्य जमिन बगाएको छ, घरगोठ भत्काएको छ र कतिपय परिवार विस्थापित हुन बाध्य भएका छन् । यही कारण खयरबारीलाई ‘बाढीको छायाँमा रहेको बस्ती’ भनेर चिनिन्थ्यो । तर समयसँगै यहाँको अवस्थामा कायापलट भएको छ ।
रतुवा खोलामा मजबुत बाँध निर्माण भएपछि गाउँमा बाढी पस्ने क्रम पूर्णरूपमा रोकिएको स्थानीय टंकप्रसाद सापकोटा बताउनुहुन्छ । ‘आकाशमा बादल मडारिँदा यहाँका बासिन्दाको मन अँध्यारो हुन्थ्यो’ उहाँले भन्नुभयो,‘पानी पर्नु अघिनै घरका सामान पोको बाँधेर बस्नु पर्थ्यो, कतिखेर बाढी पस्छ र भाग्नु पर्ला भनेर ।’ तर हुर्किँदै गएको पुस्तालाई यि कुरा कथा जस्ता लाग्छन् । न बस्तिमा अहिले बाढी पस्छ, न पानी पर्नसाथ भाग्नु पर्ने चिन्ता । ढुक्कले निदाउँछ खयरवारी ।
सडकसँगै भित्रिए अवसर
यससँगै खयरबारी टोलसम्म कालोपत्रे सडक पुगेपछि जनजीवन झनै सहज बनेको छ । केही वर्षअघिसम्म हिउँदमा धुलाम्यै र वर्षायाममा हिलाम्यै हुने बाटो अहिले कालोपत्रे भएपछि सिटी सफारी र अटो रिक्सा समेत चल्न थालेका छन् । स्थानीय दिपक आचार्यका अनुसार, बाटो पिच भएपछि हिँडडुल मात्रै होइन, कामकाज र आम्दानीका अवसर पनि बढेका छन् । ‘कालोपत्रे सडकले बस्तिबाट बाहिर निस्किन सजिलो मात्रै भएको छैन, अवसरहरु भित्र्याउन पनि सजिलो भएको छ’ उहाँले भन्नुभयो ।
सडक, विद्युत र बाँधजस्ता पूर्वाधार विकासले यहाँको कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पारेको छ । किसानले उत्पादन गरेका तरकारी, धान, मकैलगायतका उपज नजिकैको ठूलो बजार दमकसम्म सहजै पुर्याउन सजिलो भएको छ । ढुवानी खर्च घटेको छ, समय बचत भएको छ र किसानले उचित मूल्य पाउन थालेका छन् । यसले स्थानीयको आर्थिक अवस्था क्रमशः सुदृढ हुँदै गएको देखिन्छ ।
उपचार, शिक्षा, दैनिक उपभोग्य वस्तुको खरिददेखि अन्य सेवा सुविधाका लागि पनि अब खयरबारीका बासिन्दालाई ठूलो समस्या छैन । सडक र यातायात सहज भएपछि अस्पताल, विद्यालय र बजारसम्मको पहुँच सजिलो बनेको छ । स्थानीयका अनुसार यी अधिकांश विकासका काम यहाँबाट निर्वाचित हुँदै आएका प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीको पहलमा सम्भव भएका हुन् । जनप्रतिनिधि नभएको समयमा समेत उहाँकै निरन्तर प्रयासका कारण खयरबारी मात्र होइन, पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण सीमावर्ती क्षेत्रसम्मका सयौं परिवार रतुवा खोलाको बाढीबाट उठिबास हुनुपर्ने त्रासबाट मुक्त भएका छन् ।
अहिले खयरबारी बाढीको भयबाट मुक्त, विकासको बाटोमा अघि बढिरहेको एउटा उदाहरणीय बस्ती बनेको छ । पूर्वाधार विकासले कसरी जनजीवन, दैनिकी र आर्थिक सम्भावनालाई रूपान्तरण गर्न सक्छ भन्ने कुरा खयरबारीले स्पष्ट रूपमा देखाएको छ ।






प्रतिक्रिया