अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद पुनर्स्थापनाको मुद्दामा सर्वाेच्च अदालतले चाँडो फैसला गरोस : अध्यक्ष ओली

संसद पुनर्स्थापनाको मुद्दामा सर्वाेच्च अदालतले चाँडो फैसला गरोस : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा चुनाव हुन्छ कि हुन्न भन्ने अझै टुंगो नभएको बताउनुभएको छ।
ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै उच्च पहाडी र हिमाली भेगमा मान्छे नै नभएको भन्दै भोट हाल्नको लागि हिमाल चढ्नजस्तै गरी कोही नजाने बताउनुभयो।

उहाँले भन्नुभयो ‘हिमाली भेगमा मान्छे नै छैन। मान्छे नै नभएको ठाउँमा बाक्सा थापेर के हुन्छ ? ४ हजार मान्छे भएको ठाउँमा ४ जनाले भोट हालेर के हुन्छ ?चुनावमा नाटक मात्रै हुन्छ। उच्च पहाडी र हिमाली भेगमा भोट हुनेवाला नै छैन।’
उहाँले भदौ २३ र २४ गते देशलाई भयानक सङ्कटमा पार्नको लागि उत्पात मच्चाइएको आरोप लगाउनुभयो।

असंवैधानिक सरकारले विघटन गरेको संसदबारे सर्वोच्च अदालत कानमा तेल हालेर बस्न नमिल्ने बताउनुभयो। उहाँले संसद् पुनर्स्थापनाको मुद्दाबारे चाँडो फैसला गर्न माग गर्नभयो।

उहाँले भन्नुभयो, ‘अदालतले तत्काल फैसला दिनुपर्छ चुनाव गर्ने कि पुनर्स्थापना गर्ने, हामीले पुनर्स्थापनाको माग गरिरहेका छौँ त्यो सुन्दै नसुन्ने, संविधान मिचिएको छ भनिरहेका छौँ हामी। अदालतले बोल्नुपर्‍यो, संविधान मिचिएको छैन भने पनि मिच्न पाइन्छ भने पनि अदालतले भनेपछि हामी मान्छौँ।’

अदालतले जे फैसला गरेपनि आफूहरू स्वीकार्ने भन्दै चुनावअघि नै बोल्नुपर्ने बताउनुभयो। संवैधानिक सङ्कटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था बन्ने बताउनुभयो।