अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई जिताउन टोल टोलमा एमालेका महिलाको सक्रियता

अध्यक्ष ओलीलाई जिताउन टोल टोलमा एमालेका महिलाको सक्रियता


झापा- फागुन २१ को प्रतिनिधी सभा सदस्य निर्वाचन नजिकिएसँगै झापा क्षेत्र नं. ५ मा चुनावी सरगर्मी पनि बढेको छ । नेकपा एमालेको प्रभावशाली पकड क्षेत्र रहेको यहाँ अहिले महिलाहरुको नेतृत्वमा टोल टोल सम्म चुनावी माहोल छाएको छ ।

झापा क्षेत्र नं ५ लाई २०४८ सालदेखि नै नेकपा एमालेको बलियो पकड क्षेत्रका रूपमा लिइन्छ। बहुदलीय प्रजातन्त्र पुनःस्थापना पछिका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले निरन्तर विजय हासिल गर्दै आउनु भएको इतिहास छ। यही राजनीतिक निरन्तरताले झापा–५ लाई विचार, संगठन र नेतृत्वका हिसाबले स्थायित्व भएको निर्वाचन क्षेत्र बनाएको देखिन्छ। आगामी फागुन २१ गते हुने निर्वाचनमा समेत अध्यक्ष ओलीको उम्मेदवारी रहेसँगै यहाँको राजनीतिक गतिविधि पुनः सक्रिय बनेको छ।

अन्य राजनीतिक दलहरू पनि आ–आफ्ना एजेण्डा र अभियान लिएर मैदानमा उत्रिएका छन्। तर, झापा–५ मा नेकपा एमाले सम्वद्ध महिलाहरूको सक्रियता उल्लेखनीय रूपमा टोल–टोलसम्म फैलिएको देखिन्छ। घरदैलो अभियानदेखि लिएर टोल बैठक, वडा भेला र चुनावी प्रचारसम्म महिलाहरूको संगठित सहभागिता एमालेको अभियानको मुख्य शक्ति बनेको छ। यसले केवल संगठनात्मक सक्रियता मात्र होइन, राजनीतिक सचेतनाको गहिराइ पनि देखाउँछ।

नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला पाठकका अनुसार पालिका, वडा र टोल तहसम्म महिलाहरूलाई योजनाबद्ध रूपमा परिचालन गरिएको छ। हरेक बैठक र अभियानमा महिलाहरूको अनिवार्य उपस्थिति र सहभागिता रहने गरेको उहाँको भनाइ छ। यसले महिलालाई केवल मतदाताका रूपमा होइन, राजनीतिक अभियानको अगुवा पात्रका रूपमा स्थापित गरेको देखिन्छ।

कमल–६ की लक्ष्मी देवी आचार्य यहाँका महिलामा सूर्य चिन्हबाहेक अन्यत्र भोट हाल्ने कुनै द्विविधा नरहेको बताउनुहुन्छ। कसैको निर्देशन वा औपचारिक सर्कुलरको प्रतीक्षाबिनै महिलाहरू स्वस्फूर्त रूपमा टोल–टोलमा सक्रिय भएको उहाँको अनुभव छ। यसले एमालेप्रतिको विश्वास केवल संगठनात्मक दबाबबाट होइन, लामो समयदेखिको राजनीतिक अभ्यास र परिणामबाट आएको स्पष्ट संकेत गर्छ।

सोही क्षेत्रकी सुजिता गुरागाईं एमाले र अध्यक्ष ओलीको नेतृत्वमा भएका विकासका कामहरू नै आगामी चुनावको जितको मुख्य आधार भएको बताउनुहुन्छ। सडक, पूर्वाधार, सेवा सुविधा र राष्ट्रिय तहमा देखिएको राजनीतिक नेतृत्वको भूमिकाले मतदातालाई विश्वस्त बनाएको उहाँको धारणा छ।

झापा–५ सचेत मतदाता भएको क्षेत्र भएकाले विचार, दर्शन र स्पष्ट दृष्टिकोण नभएका उम्मेदवारले यहाँ भोट नपाउने महिला नेतृ लिला दाहालको भनाइ छ। महिला सशक्तिकरण, समावेशीता र समान सहभागिताजस्ता विषय एमालेकै पहलमा संस्थागत भएको कुरा यहाँका महिलाहरूले राम्रोसँग बुझेको उहाँ बताउनुहुन्छ। त्यसैले भ्रम, आक्रोश र आवेग भन्दा नीतिगत स्पष्टता यहाँ निर्णायक हुने देखिन्छ।

यसैगरी, एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले झापा–५ का महिला मात्र नभई समग्र मतदातामै कस्तो व्यक्ति र कस्तो पार्टी छान्ने भन्ने स्पष्ट विचार रहेको बताउनुहुन्छ। युवामा ‘अनुहार फेर्ने’ मात्र चाहना नभएको र सामाजिक सञ्जालमा फैलाइने भ्रम तथा हल्लाले यहाँ खासै प्रभाव नपार्ने उहाँको दाबी छ।

समग्रमा, झापा क्षेत्र नं। ५ मा नेकपा एमालेको दीर्घकालीन राजनीतिक पकड, अध्यक्ष केपी शर्मा ओलीको निरन्तर नेतृत्व, र विशेषगरी महिलाहरूको संगठित, सचेत र स्वस्फूर्त सक्रियताले आगामी निर्वाचनमा पनि एमाले बलियो स्थितिमा रहेको संकेत गर्दछ।