अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीकाे पक्षमा एक ढिक्का धिमाल समुदाय

एमाले अध्यक्ष ओलीकाे पक्षमा एक ढिक्का धिमाल समुदाय


दमक-देशैभरि निर्वाचनको माहोल बढी रहँदा झापा क्षेत्र नं. ५ को चासो अत्याधिक रहेको छ। यहाँबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी रहेको छ। यो क्षेत्र विगत देखि नै एमालेको सशक्त उपस्थिति र अध्यक्ष निर्वाचित हुँदै आएको क्षेत्र हो। यही क्षेत्रको प्रमुख आदिवासी समुदायको रुपमा रहेको धिमाल जाति समेत यस बेला संगठित रुपमा एमाले तथा एमालेका उम्मेदवार ओलीलाई निर्वाचित गराउने क्रियाशिल रहेको छ।

धिमाल जातीय विकास केन्द्रका राष्ट्रिसभा सचिव मणिराज धिमाल अनुसार अन्य राजनीतिक दलको तुलनामा एमालेले धिमाल समुदायलाई राजनीतिक, शैक्षिक तथा सामाजिक रूपमा अघि बढ्ने अवसर निरन्तर रूपमा प्रदान गर्दै आएको छ। त्यसैले यहाँको धिमाल समुदाय एमालेको पक्षमा एक ढिक्का रहेको उनी बताउँछन्।

धिमाल समुदायको संस्थागत विकास, पहिचानको संरक्षण र राजनीतिक प्रतिनिधित्वका सवालमा एमालेले प्रारम्भिक चरणदेखि नै अग्रसर भूमिका खेलेको समुदायका उनको भनाइ छ ।

युवा पुस्ता झनै दृढ

धिमाल समुदायका अगुवाहरूका अनुसार आगामी निर्वाचन केवल सत्ता परिवर्तनको विषय मात्र नभई आफ्नो पहिचान, सम्मान र अधिकारको संरक्षणसँग पनि जोडिएको छ । यही कारण उनीहरू एमालेको विजयलाई आफ्नो भविष्य सुरक्षित गर्ने राजनीतिक आधारका रूपमा हेरेका छन् ।

नयाँ पुस्ताका युवाहरुमा समेत एमालेप्रतिको विश्वास नै बलियो पाइन्छ । दमक ४ की सलिना धिमाल राजनीतिक चेतना विस्तारदेखि नेतृत्व विकाससम्म एमालेले धिमाल समुदायलाई अवसर दिएको आफुले सानैदेखि देखेको बताउँछिन् । त्यसैले धिमाल समुदायको युवा पुस्ता पनि एमालेप्रति दृढ रहेको उनले बताइन् ।

पूर्वी नेपालको आदिवासी समुदायका रूपमा परिचित धिमाल जाति ऐतिहासिक, सांस्कृतिक र राजनीतिक रूपमा विशिष्ट पहिचान बोकेको समुदाय हो । झापा, मोरङ र सुनसरीका केही भू–भागमा सघन बसोबास रहेको यस समुदायले लामो समयदेखि राज्यसत्तासँग आफ्नो अस्तित्व, अधिकार र सहभागिताका सवाल उठाउँदै आएको छ । यही क्रममा धिमाल समुदायका अगुवाहरू संगठित रूपमा एमालेको विजयको पक्षमा उभिएका छन् ।

एमालेकै प्रयासमा प्रथम नागरिक घोषणा

१५० वर्षभन्दा अघिनै पूर्वी नेपालका दर्जनौ बस्ती धिमाल समुदायले जंगल फाँडेर, बन्यजन्तुसँग लडेर बसालेको इतिहास छ । मानव बस्ती विकासमा यो समुदायको यही योगदानको कदर गर्दै स्थानीय तहको पहिलो निर्वाचनपछि एमाले नेतृत्वको स्थानीय सरकारले धिमाल समुदायका व्यक्तिलाई ‘प्रथम नागरिक’ घोषणा गर्‍यो । सुरुमा दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरे पनि यो अभ्यास झापा र मोरङका अन्य स्थानीय तह सम्म पुगेको छ । यसले धिमाल समुदायको आत्मसम्मानमा दिर्घकालिन सकारात्मक सन्देश दिएको छ ।

यसले धिमाल समुदायको पहिचानलाई सार्वजनिक रूपमा स्थापित गर्नुका साथै राज्य संरचनामा उनीहरूको सम्मान र स्वीकार्यतालाई समेत उजागर गर्‍यो । तर, गत भदौ महिनामा ‘जेनजी’को नाममा भएको आन्दोलनका क्रममा दमक नगरपालिका परिसरमा राखिएको धिमाल समुदायको प्रथम जातिको स्मारक तोडफोड गरिनु समुदायका लागि गहिरो चोटको पारेको छ । उक्त घटनापछि यस क्षेत्रका धिमाल समुदायको मन कुँडिएको र असुरक्षाको भावना बढेको अगुवाहरू बताउँछन् ।

अभिभाज्य सम्बन्ध

धिमाल समुदायका अगुवाहरु एमाले र धिमाल समुदायबीच अभिभाज्य सम्बन्ध रहेको बताउँछन् । धिमाल जातीय विकास केन्द्रमा लामो समय अध्यक्ष भएर काम गरेका रामबहादुर धिमाल यो समुदायको विकास, राजनीतिक पहुँच स्थापना र सशक्तिकरणमा एमाले नै पहिलो राजनीतिक शक्ति रहेको बताउँछन् ।

यस्तै, राजनीतिक अवसरहरु प्रदान गर्ने, नीति निर्माण तहमा पहुँच पुर्‍याउन सहयोग गर्ने काम समेत एमालेले गर्दै आएको उनले बताए । यस काममा खासगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीकै विशेष पहल र चासो रहने गरेको पाएको उनले उल्लेख गरे । त्यसैले अहिले मात्र नभई वर्षौ देखिनै झापा क्षेत्र नं. ५ मा तथा झापा र मोरङका हरेक धिमाल बस्तीमा एमालेको पक्षमा जनमत रहेको उनले बताए । उनी एमालेको तर्फबाट दुई पटक जनप्रतिनिधि समेत भइसकेका छन् ।

यस्तै, एमालेकै तर्फबाट निर्वाचित भई दमक नगरपालिकाको उपप्रमुख समेत भइसकेका लोकबहादुर धिमाल यस्तो पृष्ठभूमिमा धिमाल समुदायको सघन बसोबास रहेको झापा क्षेत्र नं. ५ मा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति समुदायको राजनीतिक भरोसा बलियो रहेको बताउँछन् । आगामी निर्वाचनमा यही क्षेत्रबाट अध्यक्ष ओली उम्मेदवार रहनु धिमाल समुदायका लागि राजनीतिक रूपमा महत्वपूर्ण विषय बनेको उनले उल्लेख गरे ।

२०४८ सालको स्थानीय निर्वाचनदेखि नै एमालेको तर्फबाट धिमाल समुदायका प्रतिनिधिहरू निर्वाचित हुँदै आएका छन्, जसले समुदाय र पार्टीबीचको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाएको उनको अनुभव छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अनुसार झापा र मोरङ प्रमुख थातथलो रहेको धिमाल जातिको जनसंख्या २०७८ को जनगणना अनुसार २५ हजार ६ सय ४३ रहेको छ । प्रकृति पुजक धिमाल जातिमा प्रथाजनित संस्कारका कारण आपसी सद्भाव र विश्वास समेत बलियो पाइन्छ । धिमाल जाति आदिवासी जनजातिका रुपमा सूचीकृत रहेको छ ।