झापा-आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ४ को राजनीतिक माहोल तातिएको छ। यतिबेला उम्मेद्वारहरू जनताका घरदैलो अभियानमार्फत मतदातासम्म पुगिरहेका छन् भने मतदाताहरू पनि विकल्पबारे गम्भीर छलफलमा जुटिरहेका छन्। यही सन्दर्भमा नेकपा एमालेका उम्मेद्वार एलपी साँवा लिम्बुको घरदैलो कार्यक्रमले विशेष गति लिएको देखिन्छ।
यसअघि दुई पटक निर्वाचित भइसकेका साँवा लिम्बु अनुभवी र परीक्षण भइसकेका उम्मेद्वारका रूपमा चिनिन्छन्। विगतका कार्यकालमा स्थानीय पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य र सामाजिक पहुँच विस्तारमा देखिएको सक्रियताले उनको राजनीतिक आधार बलियो बनाएको विश्लेषकहरू बताउँछन्। यही कारण यसपटक उनी तेस्रो जित अर्थात् ‘हेट्रिक’को लक्ष्यसहित मैदानमा छन्।

राजनीतिक रूपमा हेर्दा झापा-४ मा एमालेको संगठनात्मक संरचना तुलनात्मक रूपमा मजबुत मानिन्छ। वडा-तहसम्म फैलिएको संगठन, कार्यकर्ताको सक्रिय परिचालन र केन्द्र-प्रदेश-स्थानीय तहबीचको समन्वयले लिम्बुको अभियानलाई धार दिएको छ। घरदैलो क्रममा उनी मतदातासँग प्रत्यक्ष संवाद, विगतका कामको मूल्यांकन र आगामी योजनाको स्पष्ट खाका प्रस्तुत गरिरहेका छन्, जुन अन्य उम्मेद्वारमा अपेक्षाकृत कम देखिन्छ।
यस क्षेत्रमा नेपाली कांग्रेसका देउमान थेवे र राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु सुस्केरा प्रमुख प्रतिस्पर्धीका रूपमा मैदानमा छन्। कांग्रेस परम्परागत मतदातामा भरोसा राखेर अघि बढिरहेको छ भने रास्वपा नयाँ राजनीतिक शक्तिका रूपमा असन्तुष्ट मत आकर्षित गर्ने प्रयासमा छ। तर स्थानीय तहमा अनुभवको कमी, संगठन विस्तारको चुनौती र स्पष्ट विकास एजेन्डाको अभावले उनीहरूलाई कठिनाइ पर्ने संकेत देखिन्छ।

वर्तमान राजनीतिक समीकरण, संगठनात्मक शक्ति र मतदातासँगको प्रत्यक्ष सम्बन्धका आधारमा एलपी साँवा लिम्बु हालका प्रतिस्पर्धीहरूभन्दा अघि देखिएका छन् । अन्तिम निर्णय मतदाताको हातमा भए पनि चुनावी मैदानको वर्तमान चित्रले उनलाई जिततर्फ उन्मुख उम्मेद्वारका रूपमा प्रस्तुत गरिरहेको छ।
यसैबीच नेकपा एमाले झापा क्षेत्र नम्बर ४ ले चुनावी अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रित रणनीति अघि बढाएको छ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मनोज ताम्लीको संयोजकत्वमा पाँच सय सदस्यीय चुनाव परिचालन कमिटी गठन गरिएको छ ।
पार्टीले क्षेत्रभित्रका प्रत्येक पालिका कमिटी, वडा कमिटी तथा टोल कमिटीलाई समेत सक्रिय रूपमा परिचालन गरिसकेको जनाएको छ । घरदैलो अभियान, मतदाता भेटघाट, प्रचार-प्रसार तथा चुनावी व्यवस्थापनलाई एकीकृत रूपमा सञ्चालन गर्ने उद्देश्यले संगठनलाई तल्लो तहसम्म चलायमान बनाइएको एमाले झापा क्षेत्र नम्बर ४ ले जानकारी दिएको छ ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) ले स्पष्ट मतान्तरसहित अग्रता कायम गरेको देखिएको छ । निर्वाचन परिणामअनुसार नेकपा एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बुले ४३ हजार ५१५ मत प्राप्त गर्दै सबैभन्दा बढी मत हासिल गरेका थिए ।

उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबे लिम्बुले २६ हजार ८२२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहन सफल भएका थिए । कांग्रेसले उल्लेखनीय मत पाएको भए पनि एमालेसँगको मतान्तर ठूलो देखिएको थियो । तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले १४ हजार ६९ मत प्राप्त गरेका थिए । नयाँ राजनीतिक शक्तिका रूपमा मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय मत पाएको भए पनि मुख्य दुई दलको मतसंख्याभन्दा कम रहेको थियो ।
यसरी हेर्दा झापा क्षेत्र नम्बर ४ मा २०७९ को प्रत्यक्ष निर्वाचनमा नेकपा एमालेले स्पष्ट अग्रता कायम गरेको देखिन्छ । नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी उल्लेखनीय मतसहित तेस्रो स्थानमा देखिएको थियो । निर्वाचन परिणामले झापा–४ मा एमालेको संगठनात्मक बल, मतदाता आधार र राजनीतिक प्रभाव मजबुत रहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।






प्रतिक्रिया