काठमाडौं-झिम्रुक सौतामारेको कथा कुनै चम्किलो सहरको राजनीतिक यात्राबाट सुरु भएको होइन। यो कथा सुरु हुन्छ प्युठानका गाउँ-बस्ती, खेतका डिल, उकालो-ओरालो बाटो र सामान्य किसानका सपना बोकेर हुर्किएको एउटा बालकबाट।
त्यही माटोबाट उठेका पात्र हो-सूर्य थापा। उहाँ किसानका छोरा हुनुहुन्छ। अभावका बीच पढ्नुभयो, दुःख-सुख गर्दै अघि बढ्नुभयो। गाउँका धेरै युवाजस्तै उहाँले चाहेको भए नोकरी खोज्न सक्नुहुन्थ्यो, लाहुर जान सक्नुहुन्थ्यो वा सहर पसेर जीवनको बाटो बदल्न सक्नुहुन्थ्यो। तर उहाँले त्यो बाटो रोज्नुभएन।
उहाँ गाउँमै रहनुभयो। गाउँसँगै हुर्किनुभयो, गाउँसँगै बोल्नुभयो र गाउँकै समस्या आफ्नो जिम्मेवारी ठान्नुभयो।
पत्रकारिताबाट सुरु भएको सार्वजनिक यात्रा
थापाको सार्वजनिक जीवन पत्रकारिताबाट सुरु भयो। कलम समाएर समाजका पीडा, आवश्यकता र आवाज उठाउँदै उहाँ प्रेस चौतारीको नेतृत्वसम्म पुग्नुभयो। पत्रकारिता उहाँका लागि पेशा मात्रै होइन, समाज बुझ्ने विद्यालय बन्यो।
त्यही यात्राले उहाँलाई राज्य सञ्चालनका कुरा नजिकबाट सिक्ने अवसर पनि दियो। दुई जना प्रधानमन्त्री र एक जना उपप्रधानमन्त्रीको सल्लाहकार भएर काम गर्दा उहाँले राजकाजको अनुभव मात्र होइन, केन्द्रको सोच र गाउँको यथार्थबीचको दूरी पनि बुझ्नुभयो।
तर अनुभव लिएर उहाँ काठमाडौंमै हराउनुभएन। फेरि फर्किनुभयो आफ्नै जनतामाझ।
केन्द्रमा पुगेर पनि गाउँ नबिर्सने नेता
सूर्य थापाको विशेषता यही हो-उहाँ केन्द्रमा पुगेर पनि गाउँलाई बिर्सनुहुन्न । उहाँ लगातार तीन दशकभन्दा बढी समय प्युठानका जनताका बीचमा रहनुभएको छ । समयले धेरै नेता बनायो, धेरै हरायो । तर उहाँ गाउँको बाटोमा, मानिसका दुःख–सुखमा, विकासका योजना र बहसमा निरन्तर देखिनुहुन्छ ।
परार वर्ष प्युठानलाई ‘थोरै दाम परेको’ भन्दै संसदमा उहाँले चिच्याएर प्रश्न उठाउनुभयो । त्यो व्यक्तिगत आक्रोश होइन, जिल्लाको आवाज थियो ।
आफ्नै सरकार हुँदा उहाँले संघीय सरकारबाट प्युठानका लागि राम्रै बजेट छुट्याउन भूमिका खेल्नुभयो । आज जिल्लामा बाटो, घाटा, खानेपानी, पुल–पुलेसाका काम चलिरहेका छन् ।
अर्खा–राजावारा जोड्ने लामो पुलको उदाहरण अझै पनि स्थानीयले सम्झिन्छन् । उहाँ आफैँ पुगेर काम अघि बढाउन लगाउनुभयो, छिटो सम्पन्न गराउनुभयो ।
बोल्दा संसदले सुन्न बाध्य हुने स्वभाव
संसदमा धेरै बोल्छन् । तर केही बोल्दा मात्रै संसद चुप लाग्छ । सूर्य थापा बोलेपछि धेरैलाई सुन्नै पर्छ । किनभने उहाँ भाषण गर्न होइन, कुरा राख्न बोल्नुहुन्छ ।
काममा लागेपछि सकेरै छाड्ने उहाँको बानी विभिन्न समितिहरूमा बसेर सम्पन्न गरेका कामहरूले देखाउँछन् । उहाँलाई मन पर्ने–नपर्ने भन्दा पनि आफूलाई लाग्ने सत्य कुरा भन्न डर लाग्दैन ।
आलोचक छन्, तर भ्रष्टाचारको आरोप छैन
उहाँका आलोचक छन् । प्रशंसक पनि कम छैनन् । राजनीति भनेकै बहस हो, आलोचना हो ।
तर एउटा कुरा उल्लेखनीय छ-उहाँका आलोचकहरूले पनि उहाँलाई भ्रष्टाचारजन्य गम्भीर आरोप लगाउन सक्दैनन् । आजको राजनीतिमा यही नै ठूलो पूँजी हो ।
उहाँ आत्तिने, मात्तिने नेता होइन । सामान्य मानिसका साना दुःख–सुखमा पनि गाउँतिरै भेटिनुहुन्छ ।
प्युठानको आवाज बनेर फेरि चुनावी मैदानमा
सूर्य थापा कुनै आकस्मिक रूपमा उदाएकाे नेता होइन । उहाँ गाउँबाट उठ्नुभएको हो, गाउँमै टिक्नुभएको हो, गाउँकै लागि लड्नुभएको हो ।
सामाजिक न्याय, विकास र राष्ट्रियताको सवालमा उहाँ आबद्ध पार्टीलाई धेरैले अब्बल ठान्छन् । यस पटक पनि उहाँ प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट प्युठानबाट चुनावी मैदानमा हुनुहुन्छ ।
समर्थकहरू भन्छन्- उहाँलाई पूरा कार्यकाल काम गर्न दिँदा जिल्लालाई नाफा हुने देखिन्छ । यो कथा एउटा नेताको मात्रै होइन । यो कथा गाउँको माटोबाट उठेर गाउँकै आवाज बन्ने यात्राको हो ।






प्रतिक्रिया