अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगले बालेन शाहलाई दोस्रोपटक सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले बालेन शाहलाई दोस्रोपटक सोध्यो स्पष्टीकरण


काठमाडौं-निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने थप ९ जनालाई स्पष्टीकरण सोधेको छ। शनिबारसम्म आयोगले २१ जनालाई स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ स्पष्टीकरण माग गरेको हो।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार हेमराज थापाले पीएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी-कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोडेर वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी मुख्यमन्त्री कार्यालयमा आएर अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको छ।

तपाईंले वाग्मती प्रदेशका मुख्यमन्त्री बानियाँका सम्बन्धमा अपमानजनक, धम्कीपूर्ण र अपशब्दयुक्त अभिव्यक्ति दिनुभएको हो वा होइन ? उजुरीमा उल्लेख भए जस्तो आर्थिक स्रोत संकलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ बमोजिमको व्यवस्थाको पालना गर्नुभएको छ वा छैन ? भनी उमेदवार थापालाई स्पष्टीकरण सोधिएको जिसीले बताए ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम बाजुराका उमेदवार थापालाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए । निर्वाचन उमेदवार लक्षित भ्रामक÷अमर्यादित सन्देश प्रकाशन तथा प्रसारण गर्ने विभिन्न व्यक्ति तथा सञ्चारमाध्यमका बारेमा आयोगले प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि लेखी पठाएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ का उमेदवार बालेन्द्र शाहलाई आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने व्यहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? भनी आयोगले स्पष्टीकरण सोधेको हो । शाहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आचारसंहिताको प्रतिकुल हुनेगरी प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालय बाहिर आफ्नो दलको निर्वाचन चिह्न पेन्ट गरेर राखेको भनी स्पष्टीकरण सोधेको छ । उजुरीमा उल्लेख भएको व्यहोरामा के कसो भएको हो ? यदि आचारसंहिताको उल्लिखित व्यवस्थाको प्रतिकुल हुने गरी दलको निर्वाचन चिह्न प्रदर्शन गरेको प्रमाणित भएमा त्यस दलको जिल्ला कार्य समितिलाई प्रचलित निर्वाचन कानुनबमोजिम किन कारबाही गर्नु नपर्ने हो ? यही विषयलाई लिएर आयोगले सोही क्षेत्रका उमेदवार माधव सापकोटलाई पनि स्पष्टीरण सोधेको छ ।

यसैगरी आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले अहिलेसम्म सोधेका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भएको प्रवक्ता जिसीले बताए ।