अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मजदुर हित र सामाजिक सुरक्षाको सुनिश्चिततासहित दुर्गाकुमार थापालाई मतदान गर्न एमालेको अपिल

मजदुर हित र सामाजिक सुरक्षाको सुनिश्चिततासहित दुर्गाकुमार थापालाई मतदान गर्न एमालेको अपिल



उदयपुर-नेकपा एमालेले उदयपुर संघीय निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती) लाई मजदुर वर्गको सशक्त प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै सूर्य चिन्हमा मतदान गर्न आम मजदुर समुदायसँग आह्वान गरेको छ।

एमालेले सामाजिक सुरक्षा, ट्रेड युनियन अधिकार तथा श्रमिकको समग्र हितलाई आफ्नो प्रमुख सरोकारको विषय बनाउँदै आएको बताउँदै थापाको उम्मेदवारी मजदुर वर्गका लागि भरोसायोग्य विकल्प भएको जनाएको छ।

दुर्गाकुमार थापा कृषि मजदुर संघ नेपालको संस्थापक केन्द्रीय सदस्यका रूपमा लामो समयदेखि श्रमिक अधिकारका पक्षमा क्रियाशील रहँदै आउनुभएको छ। मजदुर आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै उहाँले श्रमिकको हकहितका सवालमा निरन्तर आवाज उठाउँदै आएको एमालेको भनाइ छ।

यसअघि बेलका नगरपालिकाको मेयर रहँदा थापाले नगरमा ‘मजदुर हित कोष’ स्थापना गरी मजदुरको उपचार, राहत तथा सेवामा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। उक्त कोषमार्फत थुप्रै श्रमिक परिवार लाभान्वित भएको एमालेले जनाएको छ।
त्यसैगरी अनौपचारिक क्षेत्रमा काम गर्ने निजी विद्यालयका शिक्षक, कृषि मजदुर, चालक लगायत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा समावेश गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

शिक्षकहरूले आन्दोलनमार्फत उठाएका न्यायोचित माग पूरा गर्न शिक्षा ऐन जारी गराउन संसद्मा सशक्त आवाज उठाउने तथा मजदुर पक्षीय ट्रेड युनियनसम्बन्धी कानुन निर्माण र परिमार्जन गर्ने प्रतिबद्धता थापाले जनतासमक्ष राख्नुभएको छ।

एमालेले मजदुर वर्गको अधिकार सुनिश्चित गर्ने स्पष्ट योजना र विगतको कार्यसम्पादनका आधारमा दुर्गाकुमार थापा नै यस क्षेत्रका लागि उपयुक्त उम्मेदवार भएको दाबी गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेको छ।