अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारत र अमेरिकाले बालेनलाई झापा ल्यायो-केन्द्रीय सदस्य गोविन्द थापा

भारत र अमेरिकाले बालेनलाई झापा ल्यायो-केन्द्रीय सदस्य गोविन्द थापा


काठमाडौं – भारत र अमेरिकाको ग्राण्ड डिजाइनमा बालेन शाहलाई झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाइएको हो । यो बारेमा एमाले केन्द्रीय सदस्य गोविन्द थापाले विभिन्न आधार प्रस्तुत गर्नुभएको छ ।

क्षेत्र नम्बर ५ को दमकमा युथ भोलिन्टियर फोर्स गठन समारोहमा प्रमुख अतिथिका रुपमा थापाले यो कुरा खोल्नुभएको हो ।

भारत र अमेरिका दुवैले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समाप्त पार्न लगातार लागिरहेका छन् । भारत २०७२ सालदेखि लागेको हो भने अमेरिका चाहिँ गत वर्षदेखि लागेको हो । केपी ओलीलाई समाप्त पार्ने विषयमा भारत र अमेरिका दुवैको स्वार्थ मिलेको छ । यस्ता विचार राख्दै गोविन्दले भन्नुभयो–‘०७२ सालमा भारतले नेपालमा संविधान जारी नहोस् भन्ने चाहेको थियो, ओलीले संविधान जारी गराउनुभयो । ओलीले भारतीय दवाब नटेरेर नेपालको गोर्खे स्वाभिमान देखाउनुभयो । त्यसपछि भारत रिसायो ।

संविधान जारी भएपछि ओलीलाई प्रधानमन्त्री बन्न नदिन भारतले अनेक षडयन्त्र गरेको चर्चा गर्दै थापाले भन्नुभयो– ‘भारतले आफूले चाहेको मानिसलाई प्रधानमन्त्री बनाउन चाहेको थियो तर सकेन, ओली प्रधानमन्त्री बन्नुभयो । ओली प्रधानमन्त्री बन्नुभएपछि भारतले नाकावन्दी लगायो । नाकावन्दीसँग ओली झुक्नुभएन । पछि भारत नै झुक्नुपर्यो ।’

ओलीले भारतलाई झुक्न वाध्य बनाएपछि नेपालको गोर्खे स्वाभिमान र राष्ट्रियताले शिखर चुमेको चर्चा गर्दै थापाले भन्नुभयो– ‘भीमसेन थापाले भारतलाई टक्कर दिए, राजा महेन्द्रले टक्कर दिए, त्यो भन्दा कडा टक्कर दिएर ओलीले भारतलाई झुक्न वाध्य पार्नुभयो । त्यसपछि ओलीलाई समाप्त पार्न भारत निरन्तर लागिरहेको छ ।’

नेपालको मिचिएको भूमि समेटेर नक्सा जारी गरेपछि ओलीलाई समाप्त पार्न भारत झन् चर्कोसँग लागेको उहाँले बताउनुभयो ।

ओलीले नेपालमा चिनियाँ विकास मोडेल अंगाल्न थालेपछि अमेरिका पनि बिच्किएको थापाले बताउनुभयो– ‘चीनसँग नेपालले कुनै सम्बन्ध नराखोस् भन्ने भारत र अमेरिकाको दवाब थियो । ओलीले चीनसँग बिआरआई फ्रेमवर्क सम्झौता गर्नुभयो । भारतको भ्रमण नगरी पहिले चीन जानुभयो । चीनबाट फर्कनासाथ सिंहदरबार जलाउने षडयन्त्र गरेर केपी ओलीलाई सत्ताच्युत बनाइयो ।’

केपी ओलीलाई समाप्त पार्ने ग्राण्ड डिजाइनमा भारत र अमेरिकाको मिलेमतो भएको र त्यही डिजाइन अनुसार बालेन शाहलाई झापा ल्याइएको गोविन्दले बताउनुभयो ।