काठमाडौँ-स्वास्थ्य बिमामा देखिएका समस्याबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाउनुभएकाे छ । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न भन्दै आज बुधबार सरोकारवालासँग छलफल गर्दै हुनुहुन्छ।
प्रधानमन्त्रीले स्वास्थ्य बिमाबारे देखिएका समस्या समाधानका लागि सरोकारवाला पक्षसँग छलफल गर्न लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिउँसो १ बजे छलफल तय भएको सचिवालयले जनाएको छ ।
बैठकमा स्वास्थ्य बिमा सुविधा घटाइएपछि देखिएका समस्या के कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने जनाएकाे छ।
केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।
अब फागुन १ देखि स्वास्थ्य बिमा गरेका एक परिवारले वार्षिक २५ हजार रुपैयाँसम्मको मात्र ओपीडी सेवा पाउने छन्।
यद्यपि ८ प्रकारका कडा तथा दिर्घरोगको उपचार भने हाल व्यवस्था भएबमोजिम नै हुने बोर्डले जानकारी गराएको छ।






प्रतिक्रिया