मकवानपुर-नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बर्तौलाले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन्।
बुधबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा-५ को सुपिङ गाउँमा आयोजित शुभचिन्तक भेटघाट तथा अन्तरक्रियाका क्रममा नेता बर्तौलाले अन्य पार्टीका कार्यकर्तालाई पुनः एमालेमा फर्काएका हुन्।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शेरबहादुर मुक्तान, चन्द्रबहादुर स्याङतान, रमाकान्त नेपाल, कमल बहादुर रेग्मी र सुमन थिङ लगायत पुनः एमालेमै फर्किएका हुन्।
उम्मेदवार बर्तौलाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अधुरा काम पूरा गर्न आफूलाई पुनः अवसर दिन आग्रह गर्नुभयो ।
स्थानीयसँगको भेटमा बर्तौलाले विगतको कार्यकाल पूर्ण हुन नपाएकोमा दुःख व्यक्त गर्नुभयाे ।
‘तपाईंहरूले मलाई ६० महिनाका लागि निर्वाचित गरेर पठाउनुभएको थियो, तर संसद विघटनका कारण ३२ महिनामै मेरो कार्यकाल रोकियो,’ बर्तौलाले भन्नुभयाे, ‘प्राकृतिक न्याय र २०७९ को जनादेशका आधारमा पनि मैले बाँकी २८ महिना सेवा गर्न पाउनुपर्छ। अधुरा जिम्मेवारी पूरा गर्न मलाई सहयोग गर्नुहोस्।’
अन्तरक्रियाका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार बर्तौलासमक्ष विभिन्न समस्या र जिज्ञासा राखेका थिए । स्थानीय गुणप्रसाद पुडासैनीले बाँदरको समस्याका कारण गाउँ नै रित्तिन लागेको बताउँदै यसलाई नीतिगत रूपमै समाधान गर्न माग गर्नुभयाे । अर्का स्थानीय छविलाल पुडासैनीले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने र गाईको मासु खान पाउनुपर्छ भन्ने खगेन्द्र सुनारको अभिव्यक्तिको कडा विरोध गर्नुभयाे।
वास्थलाका सूर्यबहादुर ब्लोनले पुस्तौंदेखि बसोबास गर्दै आए पनि जग्गाको धनीपुर्जा नपाएको गुनासो गर्दै भूमि आयोगको कामलाई तीव्र बनाउन आग्रह गर्नुभयाे ।
कार्यक्रममा बोल्दै एमाले भीमफेदीका उपसचिव आशिष अस्लामीले बर्तौलाको विगतको कार्यकाल उपलब्धि मुलक रहेको दाबी गर्नुभयाे। उहाँले बर्तौलाले संसदमा भूमिहीनका समस्या, टीआरसी विधेयक, शिक्षा विधेयक र दुग्ध किसानका पक्षमा दरिलो आवाज उठाएको स्मरण गराउनुभयाे ।
अस्लामीले भन्नुभयाे, ‘हाम्रो उम्मेदवार दुई विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको विज्ञ व्यक्ति हुनुहुन्छ । उहाँको सक्रियताले नै बकैया लगायतका क्षेत्रमा भूमिहीनले पुर्जा पाएका छन्, बाँकी काम पनि उहाँले नै पूरा गर्नुहुनेछ ।’
एमाले बागमती प्रदेश कमिटी सदस्य भगवती पुडासैनीले गएको भदौ २३–२४ गते व्यक्तिगत र सार्वजनिक सम्पत्ति जलाएको स्मरण गराउँदै राष्ट्रियता र शान्ति सुरक्षाको लागि एमालेमा मत हाल्न अनुरोध गर्नुभयाे।






प्रतिक्रिया