अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार कसैको एजेण्डा स्थापित गराउन निर्वाचनलाई प्रयोग गर्न लागिपरेको छ: एमाले सचिव बस्नेत

सरकार कसैको एजेण्डा स्थापित गराउन निर्वाचनलाई प्रयोग गर्न लागिपरेको छ: एमाले सचिव बस्नेत


काठमाडौं-नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार रास्वपा पक्षधर बनेर लोकतन्त्रवादी शक्तिमाथि आक्रमण गरिरहेको बताउनुभएको छ।

प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘उम्मेदवारहरूसँग पत्रकार सम्मेलन’मा बोल्दै सचिव बस्नेतले  सरकार अन्तर्राष्ट्रिय शक्तिको समेत संलग्नतामा एमाले लगायत लोकतन्त्रवादी शक्तिहरूमाथि प्रहार गरिरहेको दाबी गर्नुभयो। ‘सरकार कसैको एजेण्डा स्थापित गराउन निर्वाचनलाई प्रयोग गर्न लागिपरेको छ,’ सचिव बस्नेतले भन्नुभयो।

सचिव बस्नेतले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिँदै सरकार मतपरिणाम नै बदल्ने योजनामा लागेको आरोप लगाउनुभयो । निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर मतपरिणाम परिवर्तन गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो।

सचिव बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको मत माग्नका लागि उहाँकी श्रीमतीसँग सिभिल ड्रेसका प्रहरी खटाइएको बताउनुभयाे। उहाँले सरकार ‘संरचनात्मक हाइज्याक’को अभियानमा लागेको भन्दै गलत प्रवृत्तिको विरुद्ध बोल्न नसक्ने अवस्था समाजमा सिर्जना गरिएको बताउनुभयो। ‘नेपालमा नयाँ जेनलेन्स्की उत्पादन गर्ने प्रयत्न भइरहेको छ,’ उहाँले टिप्पणी गर्नुभयो।

सचिव बस्नेतले अहिलेको प्रमुख मुद्दा देश र सार्वभौमसत्ता जोगाउनु भएको उल्लेख गर्दै नयाँ पुस्ताले देश ध्वस्त बनाउने होइन, देश बचाउने अभियानमा लाग्नुपर्ने धारणा राख्नुभयो।

उहाँले एमालेले कुनै दलसँग गठबन्धनको कुरा अघि नबढाएको स्पष्ट पार्दै पार्टी अध्यक्षको अन्य दलका नेताहरूसँगको भेटघाट गठबन्धनका लागि नभई वर्तमान समस्याबारे साझा धारणा बनाउन गरिएको बताउनुभयो ।

काठमाडौं उपत्यकाका मतदाताको मत हरेक पटक बदलिएको उल्लेख गर्दै उहाँले भदौ २३ र २४ को घटनाले उपत्यकाका मतदाताले ‘देश जलाउने शक्ति’ चिनेको दाबी गर्नुभयो ।

उपत्यकाका १५ सिटमध्ये कम्तिमा १० सिट एमालेले जित्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी निर्वाचनमा एमालेको बलियो उपस्थिति रहने बताउनुभयो ।