अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने कुराबाट एमाले भाग्दैन: डा. राजन भट्टराई

जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने कुराबाट एमाले भाग्दैन: डा. राजन भट्टराई


काठमाडौं-नेकपा एमालेका सचिव तथा काठमाडौं क्षेत्र-४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद् पुनर्स्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको धारणा व्यक्त गर्नुभएको छ।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको काठमाडौं उपत्यकाका उम्मेदवारहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमाले नीतिगत रूपमा अहिले पनि संसद् पुनर्स्थापनाको पक्षमा रहेको स्पष्ट पार्नुभयो। ‘यसले लोकतन्त्र र संविधान सहज बाटोमा फर्कन्छ भन्नेमा हामी विश्वस्त छौँ,’ उहाँले भन्नुभयो।

यद्यपि उहाँले जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने प्रक्रियाबाट एमाले कहिल्यै नभाग्ने पनि स्पष्ट पार्नुभयो। ‘जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने कुराबाट एमाले भाग्दैन’ उहाँको भनाइ थियो।

डा. भट्टराईले काठमाडौं उपत्यकाका अधिकांश सिटमा एमालेले जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न अनुरोध गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको बताउनुभयो। ‘त्यो विवेक पुर्‍याउँदा एमाले जत्तिको पार्टी अरू छैन,’ उहाँले भन्नुभयो, ‘सोही अनुसारको विवेक मतदाताले पुर्‍याउनुहुनेछ भन्ने विश्वास छ।’

डा. भट्टराईले आगामी निर्वाचनलाई लोकतन्त्र र संविधानलाई सही दिशामा अघि बढाउने अवसरका रूपमा लिन आग्रह गर्नुभयो।