अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ: ईश्वर पोखरेल

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ: ईश्वर पोखरेल


काठमाडौं-नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र-५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले नेकपा एमाले स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासनको सवालमा दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘उम्मेदवारसँग पत्रकार सम्मेलन’मा बोल्दै उहाँले एमालेको आगामी घोषणापत्रमा पनि यी मूल विषयहरू प्राथमिकताका साथ समेटिने स्पष्ट पार्नुभयो। ‘नेकपा एमाले स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासनको सवालमा प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो, ‘एमालेको घोषणापत्रमा पनि यिनै कुरा आउनेछन्।’

नेता पोखरेलले वर्तमान व्यवस्थासँग गाँसिएका केही पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनमार्फत ती विषयहरूलाई परिमार्जन गर्दै अघि बढ्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार शासकीय स्वरूप, निर्वाचन प्रणाली, सेवा प्रवाहलगायतका क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। ‘कतिपय सवालमा सुधार गर्नुपर्ने छ, त्यसमा हामी लाग्छौँ,’ उहाँले बताउनुभयो।

यस पटक एमालेको घोषणापत्र अघिल्लाभन्दा पृथक् हुने उल्लेख गर्दै उहाँले पार्टी निश्चित मुद्दामा समय तालिकासहित प्रस्तुत हुने जानकारी दिनुभयो । ‘यस पटकको एमालेको घोषणापत्र पृथक् हुनेछ,’ उहाँले भन्नुभयो, ‘हामी निश्चित मुद्दामा समय तालिकासहित प्रस्तुत हुन्छौँ ।’

नेता पोखरेलले आगामी निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्दै जनतासमक्ष त्यसलाई प्रमाणित गरेर देखाउने दाबी गर्नुभयो। ‘निर्वाचनमा यस पटक हामी राम्रो परिणाम ल्याउँछौँ र तपाईँहरूलाई सुनाउँछौँ,’ उहाँले भन्नुभयो।

एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका षड्यन्त्र हुँदै आएको आरोप लगाउँदै उहाँले बाहिरी षड्यन्त्रलाई चिर्न पार्टी भित्री रूपमा बलियो हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। ‘एमालेलाई सिद्ध्याउन हरेक खालका षड्यन्त्र हुने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘बाहिरी षड्यन्त्रलाई चिर्न भित्री रूपमा बलियो हुनुपर्छ ।’

नेता पोखरेलले एमाले मजबुत भएर अगाडि बढ्ने र कुनै पनि षड्यन्त्र सफल हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।