अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमर्यादित सामग्री नरोके प्रतिवाद गर्ने एमालेको चेतावनी

अमर्यादित सामग्री नरोके प्रतिवाद गर्ने एमालेको चेतावनी


काठमाडौं-नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको सचेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालको दुरूपयोग गरी प्रसारण गरिएका सामग्रीप्रति आपत्ति जनाएको छ।

अध्यक्ष ओली, दल तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउन एमालेले माग गरेको हो।

प्रचार विभाग प्रमुख एवं आम चुनावका पार्टी प्रेस संयोजक मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गैर-जिम्मेवार र गैर-राजनीतिक ढङ्गले भएकोमा हाम्रो पार्टी त्यसको विरोध गर्दछ। विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले)को गम्भीर ध्यानाकर्षण भएको छ।’

एमालेको निर्वाचन चिन्ह परिवर्तन लगायतका भ्रामक प्रचार सामग्री तयार गरी प्रसारण गर्ने कलाकार वा जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने एमालेको चेतावनी छ ।

आगामी फागुन २१ को चुनावका लागि १६३ क्षेत्रमा पार्टीको उम्मेदवारी दर्ता भएको शाहीले बताउनुभयो । कर्णाली प्रदेशको रुकुम पश्चिमामा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको र मनाङमा प्राविधिक कारणले उम्मेदवारी कायम हुन नसकेको उहाँको भनाइ छ।