अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङ-१ मा चुनावी रौनकः पुरानालाई विरासत र नयाँलाई सेलिब्रेटीको आश

बागलुङ-१ मा चुनावी रौनकः पुरानालाई विरासत र नयाँलाई सेलिब्रेटीको आश


बागलुङ – चुनाव आउन ठिक एक महिना बाँकी छ। तर दलहरुलाई चुनावले छपक्कै छोएको छ। दुई साता पहिले उम्मेदवारी दर्ता गराएका राजनीतिक दलका नेता-कार्यकर्ता यतिबेला चुनावी माहोल तताउदै मतदाताको घर-घरमा पुगेका छन्।
विगतका कामको बिरासत सम्झाउने, पार्टीका तर्फबाट गरेका कामका बारेमा स्मरण गराउने लगायत मतदातालाई रिझाउन उम्मेदवारदेखि नेता कार्यकर्ताको दौडधुप छ।

विगतमा स्थानीय तह, प्रदेश र संघीय संसदमा विभिन्न जिम्मेवारी लिएका राजनीतिक दलहरू (नयाँ भाष्य अनुसार पुराना दलहरु) आफ्नो विगत स्मरण गराउँदै चुनावमा मत माग्दै गर्दा नयाँ शक्तिका रूपमा उदायका दलहरु भने सेलिब्रेटीको साखसँगै चुनावी मैदानमा छन्। चर्चित कलाकार, मोडलहरुलाई चुनाव प्रचारमा सहभागी गराएर नयाँ शक्तिले मतदाता तान्ने प्रयास गरिरहेका छन्।

पूर्वी बागलुङ (क्षेत्र-१) मा प्रमुख ४ दलका उम्मेदवारहरु प्रतिस्पर्धामा रहेको दाबी गर्दै आएका छन्। नेकपा एमालेका हिरा बहादुर केसी, नेपाली कांग्रेसका भीम श्रीस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार कृष्ण अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल खड्काले आफूहरु जितको नजिक रहेको दाबी गर्ने गरेका छन्।

चुनावमा सबै उम्मेदवारले जित्छु भन्नुलाई अन्यथा मानिदैन, जित्नकै लागि उम्मेदवार हुने हो, तर जित्नका लागि संगठन, एजेण्डा, माहोल लगायत धेरै कुराले प्रभाव पार्ने गर्दछ।

पूर्वी बागलुङका चार उम्मेदवार मध्ये तीन जनाले संगठनसँगै पुरानो विरासतलाई पनि चुनाव जित्ने महत्वपूर्ण आधारका रुपमा अथ्र्याउने गरेका छन्। तर नयाँ शक्ति रास्वापाका उम्मेदवारलाई विरासत देखाउने अवसर बागलुङमा छैन, नयाँले विरासतको सट्टा सेलिब्रेटीलाई मैदान उतारेका छन्।

रास्वापाले अमेरिकाबाट अध्ययन सकेर आएका युवा सुशिल खड्कालाई प्रत्यक्षको उम्मेदवार बनाएको छ। समानुपातिकमा चर्चित कलाकार प्रकाश सपुतलाई अगाडि बढाएको छ।

रास्वापाले समानुपातिक उम्मेदवारहरु नायिका रिमा विश्वकर्मा र पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ लगायतलाई बागलुङमा चुनावी अभियानमा सहभागी गराइसकेको छ।

प्रकाश सपुत आफैमा जनताका बीचमा लोकप्रिय कलाकार हुन र उनी नै समानुपातिक उम्मेवार बनेको अवस्थामा थप सेलिब्रेटीहरुलाई प्रचारमा ल्याउदा रास्वापाको यसपटकको चुनावी अभियान नै सेलिब्रेटीहरुले चलाएको जस्तो भान परेको छ।
पूर्वी बागलुङका पुराना दलका उम्मेदवारहरुलाई चुनावी एजेण्डा, व्यक्तिगत प्रभावसंगै पुरानो विरासत पनि उपलब्ध छ।

पुराना पार्टीहरुका तर्फबाट संघीय संसद, प्रदेश र स्थानीय तहका विभिन्न जिम्मेवारीमा रहेका र रही सकेकाहरुको सक्रियता र विरासतलाई पनि तीन पार्टीले चुनावी प्रचारको आधार बनाएका छन्। विगतमा राज्यका विभिन्न निकायको जिम्मेवारीमा रहदा गरेका विकास निर्माणका काम लगायतका विषयलाई पनि उनीहरुले चुनावी अभियानमा चर्चा गर्ने गरेका छन्। चार दलका तीन उम्मेदवारहरु जिताउन लागेका जनप्रतिनिधि र पूर्व जनप्रतिनिधिको अवस्था कस्तो छ त ?

१. नेकपा एमाले
नेकपा एमालेका उम्मेदवार हिरा बहादुर केसीलाई बहालवाला मन्त्रीका रुपमा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठक चुनावी अभियानका सहयोगी छन्। मन्त्रीको प्रभाव राजनीतिमा अवस्य नै हुन्छ, मन्त्रीले प्रत्यक्ष रुपमा चुनावमा प्रचार गर्न नपाए पनि आफुले गरेका, गर्न सक्ने कामका बारेमा मतदातालाई प्रभाव पार्ने काम भइ नै हाल्छ।

केसीलाई एमालेका सादगी नेता पूर्व सांसद स्वर्गीय गोविन्द अधिकारीको लिगेसी र परिवारको साथ छ। त्यस्तै निश्कलंक नेताको छवि बनाएका बागलुङ नगरपालिकाका संस्थापक नगर प्रमुख ऋषिराम शर्माको परिवार पनि यतिबेला केसीको चुनावी अभियानको सारथी बनेको छ। शर्मा पत्नी गिता शर्मा प्रदेश कमिटि सदस्य हुनुहुन्छ, उहाँ चुनावी अभियानमा निरन्तर खटिनुभएकाे छ।

एमालेबाट चुनाव जितेका, हिरा बहादुर केसी नै चुनावी कमाण्डर बनेर जिताएका पहिलो संविधानसभाका सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माको विरासत पनि केसीलाई छ। शर्माका दाई कृष्ण प्रसाद शर्मा चुनावी अभियानमा सहयात्री छन् भने भाई हरिप्रसाद शर्मा वडा एमालेका तर्फबाट वडा अध्यक्ष नै हुन्। यद्यपी शर्मा पत्नी सिता शर्मा यतिबेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा क्रियाशिल छिन्।


केसीलाई पूर्व संघीय सांसदहरु मन कुमारी केसी जिसी र डा.सूर्य पाठक तथा संविधानसभा सदस्य नर बहादुर थापा मगरको अभिभावकत्व छ। जिसी र पाठक पार्टीका केन्द्रीय सदस्य हुन् भने थापा मगर गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हुन्। पाठक यतिबेला केसी जिताउने चुनावी अभियानका क्षेत्रीय कमाण्डर पनि हुन्।

गण्डकी प्रदेशसभाका वर्तमान सांसदहरु लिल बहादुर थापा र गोविन्द बहादुर नेपाली मात्रै होइन, गण्डकी प्रदेशसभाका पूर्व सांसदहरु इन्द्रलाल सापकोटा र सावित्रा राना पनि केसी जिताउने अभियानका सहकमाण्डर छन्।

बागलुङ नगरपालिकाका पूर्व प्रमुख जनकराज पौडेल केसीका चुनावी सहकमाण्डर हुन् भने काठेखोला गाउँपालिकाका पूर्व अध्यक्ष अमर बहादुर थापा र जैमिनी नगरपालिकाका पूर्व उपप्रमुख लिला राना आ-आफ्नो पालिकाको चुनावी कमाण्ड गर्ने संयोजकको भूमिकामा रहेका छन्।

जनप्रतिनिधिहरुकै अवस्था हेर्दा बागलुङ नगरपालिका वडा नं. ५ का अध्यक्ष हरि प्रसाद शर्मा, ६ का रुद्र बहादुर केसी, ७ का मेघनाथ गैरे, काठेखोला गाउँपालिका २ का विद्यापती शर्मा, ३ का कुल बहादुर विक, ७ का प्रेम बहादुर जिसी, जैमिनी नगरपालिका ९ का सन्दिप थापा मगर र बरेङ गाउँपालिका ३ का शेर बहादुर खनाल एमाले उम्मेदवार हिरा बहादुर केसी जिताउ अभियानमा सक्रिय छन्।

एमालेबाट यो निर्वाचन क्षेत्रका विभिन्न वडाका पूर्व वडा अध्यक्षहरु बानपा १ का दुर्गा बोहोरा, बानपा २ का जिवन आचार्य, बानपा ४ का ध्रुव बहादुर केसी, ५ का शिव सापकोटा, ६ का खेमराज सापकोटा, ७ का खगराज पाण्डे, ८ का राजन जि.सी, ९ का गणेश बहादुर थापा, १० का प्रेम बहादुर थापा, १२ का गुरुदत्त पाठक, जैमिनी नगरपालिका ३ का बेद बहादुर छन्त्याल यतिबेला एमाले उम्मेदवार केसी जिताउने अभियानमा सक्रिय छन्। बरेङ गाउँपालिका वडा नं. ३ का पूर्व वडा अध्यक्ष स्वर्गीय पूर्ण बहादुर खनालको योगदानको फाइदा पनि केसीलाई छ।


एमालेका उम्मेदवार जिताउन बहालवाला एक मन्त्री, संघीय सांसद ३ जना, प्रदेश सांसद २ जना, प्रदेशका पूर्व सांसद २ जना, नगरपालिकाका पूर्व प्रमुख १, गाउँपालिकाका पूर्व अध्यक्ष एक, नगरपालिकाका पूर्व उपप्रमुख १, वडा अध्यक्ष ८ र पूर्व वडा अध्यक्ष १५ जना सहित ३४ जना पूर्व र वर्तमान जनप्रतिनिधि चुनावी मैदानमा छन्।

२. नेपाली कांग्रेस
नेपाली कांग्रेसका उम्मेदवार भीम श्रीसलाई नेपाली कांग्रेसबाट सांसद विजयी भएर मन्त्री भएकाहरु पूर्वराज्यमन्त्री मिन बहादुर केसीको विरासत संगै पूर्व राज्यमन्त्री तथा वर्तमान प्रदेशसभा सदस्य चम्पादेवी खड्काको अभिभावकत्व छ। केन्द्रीय सदस्य खड्का श्रीसको चुनावी अभियानमा निरन्तर सक्रिय हुनुहुन्छ। प्रदेशका पूर्व मन्त्रीहरु मणिभद्र शर्मा कंडेल र दिपेन्द्र बहादुर थापा चुनावी कमाण्डरका रुपमा मैदानमा क्रियाशिल छन्।

कांग्रेसका सादगी नेता पूर्व सांसद स्वर्गीय गोविन्द प्रसाद शर्मा कंडेल, तत्कालिन युवा नेता पूर्व सांसद स्वर्गीय हरि बहादुर खड्काको विरासत श्रीसलाई छ। पूर्व सांसद टंक प्रसाद शर्मा कंडेल र प्रकाश शर्मा पौडेल श्रीस जिताउने अभियानमै छन्।
गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदी र गण्डकी प्रदेश सभाका पूर्व सदस्य कोपिला बोहोरा पनि श्रीसको चुनावी अभियानका सारथी हुन्।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनसंगै जैमिनी नगरपालिकाका पूर्व प्रमुख इन्द्रराज पौडेल पनि श्रीस जिताउने अभियानको अगुवाई गरिरहेका छन् ।

कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु बानपा १ का जय बहादुर खत्री, ३ का सनी केसी, ८ का छम बहादुर कार्की, ९ का राजु थापा, ११ ज्ञानेन्द्र गौतम, १२ का कोपिलामणी शर्मा (स्वतन्त्र उम्मेदवार भएर जितेका), १३ का नारायण शर्मा पौडेल, १४ का चक्र बहादुर केसी, काठेखोला गाउँपालिका १ का वडा अध्यक्ष खड्क बहादुर थापा, ५ का ज्ञामनाथ कंडेल, ६ का बृहस्पती कंडेल, ८ का परमानन्द कंडेल, जैमिनी १ का विष्णुप्रसाद आचार्य, २ का प्रेम सापकोटा, ५ का ठग बहादुर थापा क्षेत्री, ७ का केन्द्र बहादुर सुनार, ८ का बिमल श्रीस राना, बरेङ गाउँपालिका–४ का किसन बहादुर खत्री र ५ का अमर बहादुर शेरभुजा पनि कांग्रेस उम्मेदवार श्रीस जिताउने अभियान अन्तरगत भुगोलमा खटिएका छन् ।

पूर्व वडा अध्यक्षहरु काठेखोला गाउँपालिका ४ का केशव थापा, ५ का शिवप्रसाद कंडेल, जैमिनी नगरपालिका १ का भूपेन्द्र थापा, ८ का विजय शर्मा अधिकारी र बरेङ गाउँपालिका वडा नं. २ का गुप्त बहादुर काला मगर पनि चुनावमै केन्द्रीत छन् । कांग्रेस उम्मेदवार श्रीसलाई जैमिनी नगरपालिका वडा नं. ७ का पूर्व वडा अध्यक्ष स्वर्गीय जित बहादुर रानाको परिवारको सहयोग छ ।
कांग्रेसका उम्मेदवार जिताउन गण्डकी प्रदेशसभा सदस्य समेत रहेका पूर्व राज्यमन्त्री एक, पूर्व प्रदेश मन्त्री २, पूर्व सांसद एक, प्रदेश सांसद एक, पूर्व प्रदेश सांसद एक, नगर प्रमुख एक, पूर्व नगर प्रमुख एक, नगर उपप्रमुख १, गाउँपालिका उपाध्यक्ष एक, वडा अध्यक्ष १९ र पूर्व वडा अध्यक्ष ५ गरी ३५ जना पूर्व र वर्तमान जनप्रतिनिधि चुनावी मैदानमा छन् ।

३. राष्ट्रिय जनमोर्चा (नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संगको सहयात्री)
राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीको विरासत जोगाउने भन्दै केसीले गत चुनावमा जितेको बागलुङ क्षेत्र नं. १ को चुनावी मैदानमा उत्रेका राष्ट्रिय जनमोर्चाका उम्मेदवार (नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संगको तालमेल) कृष्ण प्रसाद अधिकारीलाई पनि वर्तमान र पूर्व जनप्रतिनिधिहरुको बाक्लै साथ रहेको देखिन्छ ।

यही क्षेत्रबाट २०७९ को निर्वाचनमा ५ दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा जित निकालेका केन्द्रीय अध्यक्ष केसीको साथ सहयोग र नेकपासंगको चुनावी तालमेलबाट उम्मेदवार अधिकारी सादगी नेता केसीको ब्राण्ड बिकाउने मेलोमा देखिन्छन् ।
२ बाम दलका साझा उम्मेदवार अधिकारीलाई तत्कालिन नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हालका नेकपाका नेताहरु दिनानाथ शर्मा र देवेन्द्र पौडेलको विरासत पनि प्राप्त छ। संगै नेकपा एमालेबाट पहिलो संविधानसभा निर्वाचनमा विजयी भएर राज्यमन्त्री बनेका स्वर्गीय रामजी प्रसाद शर्माकी पत्नी सिता शर्मा पनि अधिकारीको चुनावका लागि सहयात्री रहेकी छिन् ।
पूर्व सांसद तथा नेकपा नेता बलावती शर्मा, राजमोका पूर्व सांसद मिना पुन, गण्डकी प्रदेशका पूर्व सांसदहरु कृष्ण थापा र पियारी थापा पनि अधिकारीको चुनावका सारथी छन् ।

जिल्ला समन्वय समितिका बागलुङका प्रमुख अमर बहादुर थापा र उपप्रमुख होमनाथ सापकोटा, पूर्व समन्वय प्रमुख राजेन्द्र ढुंगाना, जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुन, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा (तिलक) र बरेङ गाउँपालिकाका पूर्व उपाध्यक्ष दिलमाया पुन राजमो उम्मेदवार अधिकारी जिताउने अभियानमा मैदानमा सक्रिय छन् ।

गत निर्वाचनमा गठबन्धनका तर्फबाट निर्वाचित हाल नेकपाका वडा अध्यक्षहरु बानपा २ का सुरज बोसेल, ४ का कुमार विक्रम क्षेत्री, १० का तिल बहादुर थापा, जैमिनी ३ का कृष्ण बहादुर भुजेल, ६ का कृष्ण बहादुर थापा, राजमोका तर्फबाट निर्वाचित वडा अध्यक्षहरु काठेखोला गाउँपालिका ४ का लक्ष्मण पुन, जैमिनी नगरपालिका १० का श्रीप्रसाद थापा, बरेङ गाउँपालिका १ का नरसिंह पुन र २ का हिरा बहादुर घर्र्ति पनि अधिकारी जिताउनका लागि भुगोलमा खटिएका छन् । पूर्व वडा अध्यक्षहरु राजमोकातर्फबाट बानपा ३ का लक्ष्मी बास्कोटा, जैमिनी नगरपालिका ४ का गोपाल प्रसाद शर्मा, ९ का भगिन्द्र कुमार थापा र १० का नर बहादुर थापा पनि चुनावी अभियानमै छन् ।

२ दलका साझा उम्मेदवारलाई जिताउन पूर्व उपप्रधानमन्त्री एक जना सहित पूर्वमन्त्री दुइ, पूर्व सांसद २, पूर्व प्रदेश सांसद २, जिल्ला समन्वय प्रमुख एक, पूर्व जिल्ला समन्वय प्रमुख एक, जिल्ला समन्वय उपप्रमुख एक, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक, गाउँपालिकाका पूर्व उपाध्यक्ष एक, वडा अध्यक्ष ९ र पूर्व वडा अध्यक्ष ४ गरी २७ जना पूर्व र वर्तमान जनप्रतिनिधि चुनावी मैदानमा छन् । एक पूर्वमन्त्री देवेन्द्र पौडेल नवलपरासी क्षेत्र नं. २ मा नेकपा तर्फबाट उम्मेदवार रहनु भएको छ ।

४. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
२०७९ असारमा बनेको नयाँ पार्टी रास्वपा, पार्टी गठन भएको ६ महिना पछि भएको संसदीय निर्वाचनमा २० सिट सहित प्रतिनिधिसभाको चौथो दल बन्न सफल भएको थियो । चौथो दल मात्रै होइन निर्वाचन पछिको पहिलो सरकारमा उप्रधान सहित गृहमन्त्रालयको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गरेका थिए । पहिलो कार्यकाल डेढ महिना करिव उपप्रधानमन्त्री भएका लामिछाने दोस्रो पटक ४ महिना पुनः उपप्रधानमन्त्री सहित गृहमन्त्री बने । रास्वपा छोटो समयमा चर्चामा मात्रै आएन, छोटो समयमा २ पटक सरकारमा गयो । पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसंग पार्टी एकता गरेर चुनावी मैदानमा होमिएको रास्वपाका नेता कार्यकर्ताले रवि र बालेनलाई ब्राण्डका रुपमा मतदाताका विचमा लगेका छन् ।
बागलुङ क्षेत्र नं. १ मा रास्वपाले नयाँ अनुसार सुशिल खड्कालाई उम्मेदवार बनाएको छ । खड्कालाई धेरै मतदाताले पहिलो चोटी देखेका छन् तर पनि केन्द्रीय अध्यक्ष र वरिष्ठ नेताको नामबाट रास्वपाको प्रचार आक्रामक नै छ ।

रास्वपाले बागलुङमै पत्रकारिता र गित संगितमार्फत क्यारिएर बनाएर पछिल्लो समय गित संगित र चलचित्रमा समेत चर्चामा रहेका प्रकाश सपुतलाई समानुपातिक उम्मेदवार बनाएको छ । सपुत यतिबेला रास्वपालाई मत माग्न गाउँ गाउँमा पुगेका छन् ।
सपुतलाई हेर्न, सेल्फी खिच्न चाहने युवा पुस्ता मात्रै होइन, सपुतका चर्चित गितहरु सुनेर उनलाई माया गर्नेहरु पनि सपुत पुगेको चुनावी अभियानमा सहभागी छन् ।

प्रकाश सपुत चुनावमा हिड्दै गर्दा जनताको उपस्थिति बढेको रास्वपाका नेताहरुले बताएका छन् ।
रास्वपाले प्रकाशमात्रै होइन, अन्य सेलिब्रेटीहरुलाई समेत चुनावी अभियानमा सहभागी गराएको छ ।
नायिका रिमा विश्वकर्माले बागलुङ क्षेत्र नं. १ मा चुनावी अभियानमा सहभागी हुनुका साथै क्षेत्र नं. २ मा पुगेर निर्वाचन कार्यालयको उद्घाटन गरिन् । पछिल्लो पटक पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ पनि रास्वपालाई मत माग्न बागलुङ आइन् । अझै धेरै कलाकार र पार्टीका शिर्ष नेताहरु सुशिल खड्कालाई प्रत्यक्षमा र प्रकाश सपुतलाई समानुपातिकमा मत माग्न आउने जानकारी रास्वपाले दिएको छ ।

बागलुङ क्षेत्र नं. १ मा प्रमुख ४ दलका उम्मेदवारहरुका सबल पक्षहरुमा पुराना दलहरुलाई संगठन र विरासत सहयोगी बनेको छ भने नयाँ दल रास्वपालाई सेलिबे्रेटीहरुको आगमनले उत्साहित बनाएको छ ।

संगठन र पूर्व जनप्रतिनिधिको आडमा पुराना दल तथा सेलिब्रेटीको साथ र नेपाली सेनाका पूर्व सेनानीको संयोजनमा रास्वपा चुनावी मैदानमा छन् ।

निर्वाचन आउन एक महिना बाँकी नै छ, दलहरुको चुनाव प्रचार हेर्दा अबको एक महिना थप रोचक, घोचक र प्रतिस्पर्धात्मक हुने संभावना देखिन्छ ।