झापा-झापा क्षेत्र नं. ५ मा पछिल्ला १५ वर्षयता देखिएको भौतिक पूर्वाधार विकास, शैक्षिक विस्तार र आर्थिक गतिविधिले यस क्षेत्रको स्वरूप फेरिएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक नेतृत्वमा झापा-५ ले विकासको स्पष्ट दिशा र भविष्यको नक्सा कोरेको स्थानीयको बुझाइ छ।
एक दशकभन्दा बढी अवधिमा यहाँ सडक, पुल, तटबन्ध, शिक्षा, कृषि, सहरी सौन्दर्यीकरण र औद्योगिक पूर्वाधारमा उल्लेखनीय प्रगति भएको छ। राजमार्ग बाहेक मात्रै रतुवा नदीमा सातवटा पक्की तथा झोलुङ्गे पुल निर्माण हुनु झापा-५ को विकास यात्राको महत्वपूर्ण उपलब्धि मानिन्छ। यसले ग्रामीण बस्तीलाई बजार, शिक्षा र स्वास्थ्य सेवासँग जोड्न निर्णायक भूमिका खेलेको छ।
कमल खोलामा क्याम्पा–धरमपुर जोड्ने पुल निर्माणसँगै मंगलबारे–क्याम्पा सडक कालोपत्रे भएपछि आवतजावत सहज बनेको छ। त्यसैगरी, पाडाजुगी–जिम्दारचोक चार लेन सडक निर्माण अघि बढाइए पनि हाल बजेट रोक्का हुँदा काम प्रभावित भएको छ। यद्यपि, उक्त सडकलाई गौरीगञ्जसम्म विस्तार गर्ने तयारी भइसकेको जनाइएको छ।
इलामको चुलाचुली क्षेत्रमा पर्ने रतुवा नदीमा दुईवटा पक्की र एक झोलुङ्गे पुल निर्माण हुनु अन्तरजिल्ला सम्पर्क विस्तारको अर्को महत्वपूर्ण कडी हो। मदन भण्डारी राजमार्ग निर्माणमा तीव्रता आउनु र हुलाकी राजमार्गलाई गति दिनुले झापालाई पूर्व-पश्चिम तथा उत्तर-दक्षिण दुवै दिशाबाट जोड्ने रणनीतिक महत्व बढाएको छ।
मावा खोलामा मिक्लाजुङ–उर्लाबारी जोड्ने पुल, केरखा–क्याम्पा हुँदै शिवसताक्षी जोड्ने सडक, बैगुन्धुरा–कोहबरा सडक, गौरादह स्कुलचौक सडक सम्पन्न हुनु र भानुमार्ग निर्माण तीव्र हुनु झापा–५ भित्रका सडक सञ्जाल विस्तारका उदाहरण हुन्। दमक–मधुमल्ला र दमक–ढुकुरपानी सडक निर्माणले नगर र ग्रामीण क्षेत्रबीचको दूरी घटाएको छ।
बाढी र कटानको दीर्घकालीन समस्यालाई समाधान गर्न रतुवा नदीमा तटबन्ध निर्माण अघि बढाइएको छ। करिब दुई किलोमिटर बाँकी रहेको तटबन्ध यसै वर्ष सम्पन्न हुने जनाइएको छ। मावा नदीको तटबन्ध सम्पन्न भइसकेको छ भने कमल खोलामा पनि तटबन्ध निर्माण गरिएको छ, जसले बस्ती र कृषियोग्य जमिन सुरक्षित बनाएको छ।
सहरी विकासतर्फ दमक बजारको सौन्दर्यीकरण, नदी ब्युटिफिकेसन, सिवेज ढल प्रणाली निर्माण र विपन्न वर्गका लागि नमुना बस्ती निर्माणलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यससँगै गौरादह स्मार्ट सिटी अवधारणाअन्तर्गत आवश्यक पूर्वाधार निर्माण सुरु गरिएको छ। गौरादह पोखरी निर्माणले स्थानीय पर्यटन र वातावरणीय सन्तुलनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कृषि र आर्थिक गतिविधि विस्तारका लागि नमुना सहकारी खेती प्रवर्द्धनमा पूर्वाधार सहयोग गरिएको छ भने औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ। यसले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र मजबुत बनाउने आधार तयार पारेको स्थानीय व्यवसायीहरूको भनाइ छ।
शिक्षा क्षेत्रमा पनि झापा–५ ले उल्लेखनीय फड्को मारेको छ। जनता माध्यमिक विद्यालय गौरादह, दमक बहुमुखी क्याम्पस, ढुकुरपानी मावि, हिमालय मावि लगायतका विद्यालयमा पूर्वाधार विस्तार गरिएको छ। दमकमा सिटिइभिटी क्याम्पस सञ्चालनमा आएपछि प्राविधिक शिक्षा लिन चाहने युवालाई स्थानीय स्तरमै अवसर उपलब्ध भएको छ। गौरादह कृषि क्याम्पस स्थापना, भवन निर्माण र व्यवस्थापनले कृषि शिक्षा र अनुसन्धानलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
स्थानीय अगुवाहरूका अनुसार, यी सबै योजनाले झापा–५ लाई केवल भौतिक रूपमा मात्र होइन, सामाजिक र आर्थिक रूपमा पनि सुदृढ बनाएको छ। ‘विकास केवल सडक र पुल मात्र होइन, शिक्षा, रोजगारी र जीवनस्तर सुधारसँग जोडिएको हुनुपर्छ’ भन्ने दृष्टिकोणअनुसार यहाँका योजना अघि बढाइएका बताइन्छ।
पछिल्ला १५ वर्षको विकास यात्राले झापा क्षेत्र नं. ५ लाई भविष्यतर्फ उन्मुख गराएको भन्दै स्थानीयवासीले आगामी दिनमा अधुरा आयोजना सम्पन्न हुने र नयाँ योजनाले गति लिने अपेक्षा गरेका छन्। केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएका यी परियोजनाले झापा–५ लाई पूर्वी नेपालको विकासको एक महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार पारेको बताइन्छ ।






प्रतिक्रिया