झापा-झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय कार्यालय राखिएको घरमा गयराति ढुंगा प्रहार भएको छ।
कमल गाउँपालिका-२ स्थित जयप्रकाश अधिकारीको घरको माथिल्लो तलामा रास्वपाको सम्पर्क कार्यालय राखेको छ। सोही घरमा राति करिब साढे १२ बजे नचिनेका मानिसले ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ।
ढुंगा भने घरधनी बस्ने कोठाको झ्यालको सिसामा प्रहार भएको हो। ढुंगा प्रहारबाट झ्यालको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो।
प्रहरीका अनुसार, ढुंगा प्रहारबाट रास्वपा कार्यालयमा भने कुनै क्षति भएको छैन। घरधनी बस्ने फ्ल्याटको झ्यालको सिसा मात्रै फुटेको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय झापाले उक्त घटना कसले र कुन उद्देश्यले गरेको हो भन्ने खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खड्काले बताउनुभयाे।






प्रतिक्रिया