काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको दुःखद घटनामा प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पार्नुभएको छ। अध्यक्ष ओलीले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले यस्तो आदेश कहिल्यै नदिएको र दिन नसक्ने बताउनुभयो।
बिहीबार नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गतेको घटना केही तत्वले उपद्रव मच्चाएको जिकिर गर्नुभयो।
अध्यक्ष ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि अनेक आरोप लगाउने गरेको बताउनुभयो। ‘उपद्रव मच्चाएर, ठूलो उपद्रवका लागि राष्ट्रिय उपद्रवको वातावरण बनाउन सक्छन्, पहिला नै तयार हुनु भनेको थिएँ, त्यो हुन सकेन। पछि कोही लुट्न गएका, लुट्न गएकाहरूलाई भित्रै राखेर बाहिरबाट आगो लगाएर भित्रभित्रै मारिएको छ। कसैको सनाखत नै हुन सकेको छैन,’ अध्यक्ष ओलीले भन्नुभयो।
जेनजीका नाममा विध्वंश मच्चाउनेहरूले नै आफूलाई झुटा आरोप लगाइरहेको उहाँको भनाइ थियो। ‘हाम्रा विरुद्ध, षड्यन्त्रका पोकाहरूले त्यस्ता घृणित लाञ्छना लगाएर, झुटा आरोप लगाएर देश दुनियाँमा बद्नाम गर्ने काम गरेका छन्,’ अध्यक्ष ओलीले भन्नुभयाे।
आगो लगाउने तथा मार्नेहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने काम गरेको अध्यक्ष ओलीको भनाइ थियो। ‘सबैले ‘बा’ भने भन्ने रिसले यिनीहरूले केही मान्छे मार्ने परिस्थिति बनाएर उ हत्यारा हो भनेर भन्दै छन्। आगो लगाएर मार्ने उनीहरू अनि हत्यारा हुने केपी ओली,’ उहाँले भन्नुभयाे ।
अध्यक्ष ओलीले झुटको प्रचार गर्नेहरुले विभिन्न आरोप लगाइरहे पनि यथार्थ कुरा आम नागरिकलाई बुझाउन सक्नुपर्ने बताउनुभयाे।






प्रतिक्रिया