काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच झन्डै २ घण्टा कुराकानी भएको हो।
पूर्वप्रधानमन्त्री ओली बिहीबार बिहान ९ बजे प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच २०८२ पुस २४ गते भेटवार्ता भएको थियो।
भेटमा अध्यक्ष ओलीले आगामी फागुन २१ को निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाउनुभयो। उहाँले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत् रहेको बताउनुभयो।
भेटमा प्रधानमन्त्री कार्कीले भने निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको बताउँदै अब सुरक्षामा कुनै कमीकमजोरी नहुने बताउनुभयो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रधानमन्त्री कार्की र ओलीबिच भेट भएको बताउनुभयाे। कुराकानीको विस्तृत विवरण भने आफूलाई जानकारी नरहेको रावलले बताउनुभयाे।






प्रतिक्रिया