अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेनका सल्लाहकार लम्साललाई उम्मेदवार बनाएपछि असन्तुष्ट डा. श्री कुँवरले छाडे रास्वपा

बालेनका सल्लाहकार लम्साललाई उम्मेदवार बनाएपछि असन्तुष्ट डा. श्री कुँवरले छाडे रास्वपा


बुटवल–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गर्नुभएको छ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह निकट महामन्त्री सुनिल लम्साललाई उम्मेदार बनाएपछि डा. कुँवरले विभिन्न आरोप लगाउँदै राजीनामा दिनुभएको हो।

पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएपछि पार्टीमा बसिरहनु उचित नभएको भन्दै राजीनामा दिएको बताउनुभयो।

डा. कुँवरले पार्टीमा कुनै प्रणाली नभएको बताउँदै आर्थिक चलखेल भएको आरोप लगाउनुभयो। यसअघि पार्टीले अंगीकार सार्वजनिक गरेको प्राइमरी इलेक्सन नगरी आफू खुसीमा उम्मेदवार बनाएपछि त्यसखालको पार्टीमा बस्नुको अर्थ नभएको उहाँले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ।

रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएका थिए। तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो। लम्साल रास्वपा वरिष्ठ नेता शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेर काम गरेका व्यक्ति हुन्।

पार्टी छाडेका कुँवरले उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको, समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिने काम गरेको गम्भीर आरोप लगाउनुभएको छ।

‘म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ। रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जीसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले दुई लाख रुपैयाँ खर्च गरेर आएर उम्मेदवार सिफारिस पनि भएँ, प्राइमरी इलेक्सन हुन्छ भन्ने विश्वासमा रहेँ । तर भएन,’ कुँवरले भन्नभयाे, ‘रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी इलेक्सन नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका हो।’

रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी इलेक्सन नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका भएको उहाँले बताउनुभयो। रास्वपाले विदेशमा रहेका धेर नेपालीको भावनामा खेलवाड गरेको र विदेशमा सेटल भएर बसेका नेपालीलाई धोका दिएर गलत अभ्यास गरेको कुँवरको भनाइ छ। उहाँले अब आफू कुनै पार्टीमा नलाग्ने र स्वतन्त्र रुपमा बस्ने जनाउनुभयाे ।

हिजो मात्रै रास्वपाका नेता प्रणयशमशेर राणाले पनि पार्टीले प्रारम्भिक निर्वाचनको नाममा आर्थिक अपारदर्शी काम गरेको बताएका थिए ।

रास्वपाबाट काठमाडौं–५ मा अघिल्लोपटक उम्मेदवार बनेका र यसपटक पनि छनोट प्रक्रियामा सहभागी राणाले प्रारम्भिक मतदानको विधि अनुसार उम्मेदवार छनोट नभएको हुँदा शुल्क फिर्ता गर्न माग गरेका थिए ।