काठमाडौँ- प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ। चौतारीका महासचिव हिरामान लामाले जारी गर्नुभएको शुभकामना सन्देशमा श्रमजीवि पत्रकारको हक-अधिकारका लागि सङ्घर्ष, निरङ्कुशता विरुद्धको आन्दोलन, आमसञ्चार नीति निर्माण, श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिइएको छ।
‘नेपाली सञ्चार जगतमा तथ्यभन्दा भ्रम, निष्पक्षताभन्दा प्रचारबाजी, सूचना प्रवाहभन्दा व्यापार र सूचना–प्रविधिको उपयोगभन्दा दुरुपयोग बढ्दो मात्रामा देखिनु चिन्ताजनक यथार्थ बनेको छ,’ सन्देशमा भनिएको छ, ‘यस सन्दर्भमा सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै डिजिटल संरचना सुदृढीकरण, दक्ष जनशक्ति विकास र आधुनिक सञ्चार संयन्त्र विस्तार हाम्रो प्राथमिकता हो।’
चौतारीले डाटा सुरक्षा, डिजिटल अर्थतन्त्रको न्यायोचित विकास र राष्ट्रिय स्वाधीनताको रक्षामा नीतिगत सतर्कता अपरिहार्य भएको र सञ्चार तथा सूचना–प्रविधिको जिम्मेवारीपूर्ण प्रयोगले लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख गरेको छ।
मुलुकमा लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रता संरक्षण र उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पु¥याउनुहुने संस्थापक अध्यक्ष स्व विजय चालिसे र स्व अग्नि शिखालगायत सबैप्रति उच्च सम्मान समेत प्रकट गरेको छ।
विसं २०५५ मङ्सिरमा आयोजित भेलाद्वारा गठित तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गते स्थापना दिवस मनाउँदै आएको छ।






प्रतिक्रिया