काठमाडाैँ-प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन एकै दिनमा हुने बताउनु भएको छ।
भक्तपुरस्थित जनक शिक्षामा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते नै एकै पटक चुनाव हुने बताउनुभएको हो।
प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभयो । उहाँले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकुल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरी वर्तमान आफूहरु घर फर्किने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘ढुक्क र निश्चिन्त हुनुस् । एकै दिनमा हुन्छ चुनाव । दुई चोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ । मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउनुहुनेछ । निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर जान्छौँ ।’






प्रतिक्रिया