अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा तेल ट्याङ्करको ठक्करबाट प्रहरी असईको मृत्यु, एक जना गम्भीर घाइते

धनुषामा तेल ट्याङ्करको ठक्करबाट प्रहरी असईको मृत्यु, एक जना गम्भीर घाइते


जनकपुरधाम-धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जना प्रहरी असईको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमका अनुसार बिहिबार साँझ करिब ६ः२० बजेको समयमा इटहरीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३७१८ नम्बरको तेल ट्याङ्करले सोही दिशातर्फ गइरहेका प्र २–०३–००१ प ८७२० र प्र २–०१–००३ प ९९९३ नम्बरका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको जानकारी दिएका छन् ।

दुर्घटनामा प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकल चालक, इ.प्र.का. चित्लाङ मकवानपुर दरबन्दी भई हाल इ.प्र.का. ढल्केवर धनुषामा लेखा प्रमुखका रूपमा कार्यरत प्रहरी असई देवानन्द फनैत गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि मोडल अस्पताल लालगढ धनुषा पठाइएकोमा चिकित्सकले जाँचका क्रममा साँझ करिब ७ः०० बजे मृत घोषणा गरेका हुन्। 

त्यस्तै, प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–९ निवासी करिब ४५ वर्षीय रामकिशोर महतो पनि गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि जनकपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ।