अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कसैलाई गाली गर्ने, आरोप-प्रत्यारोप गरेर ओखलढुंगाको माटो बदनाम गर्ने पक्षमा छैन: अस्मिता थापा

कसैलाई गाली गर्ने, आरोप-प्रत्यारोप गरेर ओखलढुंगाको माटो बदनाम गर्ने पक्षमा छैन: अस्मिता थापा


ओखलढुंगा-ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापाले कसैलाई गाली-गलौज गरेर राजनीति सफल नहुने बताउनुभएको छ। नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहनुभएकी थापाले शुक्रबार ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा आरोप–प्रत्यारोपभन्दा सकारात्मक एजेण्डाका साथ जनतामाझ जाने स्पष्ट गर्नुभयो।

‘म चुनावी मैदानमा जाँदै गर्दा कसैलाई गाली गर्ने, आरोप-प्रत्यारोप गरेर ओखलढुंगाको माटो बदनाम गर्ने पक्षमा छैन,’ उहाँले भन्नुभयो, ‘हामीले मुद्दा र दृष्टिकोणबाट प्रतिस्पर्धा गर्नुपर्छ।’

उहाँले आफू युवा पुस्ताकै प्रतिनिधि भएकाले समयको पदचाप र नयाँ पुस्ताको भावना अन्य उम्मेदवारभन्दा नजिकबाट बुझेको दाबी गर्नुभयो। ‘युवा पुस्ता के चाहन्छ भन्ने कुरा मैले आफैँ त्यही पुस्ताको भएकाले राम्रोसँग बुझेकी छु,’ उहाँको भनाइ थियो।

गाउँपालिका उपाध्यक्षका रूपमा काम गर्दा स्थानीय समस्या नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै उहाँले विशेष गरी महिला, आमा–दिदीबहिनीका पीडा र आवश्यकताबारे आफू संवेदनशील रहेको बताउनुभयो। ‘गाउँमा बसेर यहाँका समस्या र समाधानका उपाय नजिकबाट देखेकी छु, अब मैले देखेका र भोगेका विषयलाई विधि निर्माणको थलोमा पुर्‍याएर जनताको आवाज बोल्नेछु,’ उहाँले भन्नुभयो।

अग्रज नेताहरूले थालेका अधुरा विकास आयोजना पूरा गर्ने तथा मानवीय पुँजी विकासलाई प्राथमिकता दिने योजना आफूले अघि सारेको उहाँले जानकारी दिनुभयो। व्यावसायिक तथा रोजगारमूलक शिक्षा र आधारभूत स्वास्थ्य सेवा आफ्नो मुख्य प्राथमिकता रहेको उहाँको भनाइ थियो।

पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले विगतमा अघि सारिएका र सम्पन्न हुन बाँकी रहेका विकास आयोजना अब युवा उम्मेदवार अस्मिता थापाको नेतृत्वमा टुङ्गिने विश्वास व्यक्त गर्नुभयो। समयको मागअनुसार स्वच्छ छवि र जुझारु युवा नेतृत्वलाई पार्टीले उम्मेदवार बनाएको उहाँले बताउनुभयो। ‘आठवटै पालिका र वडामा पुग्दा हाम्रो उम्मेदवारप्रति जनताको अपार समर्थन देखिएको छ,’ उहाँले दाबी गर्नुभयो। 

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै केही व्यक्तिले पार्टी छाडे पनि त्यसको प्रभाव न्यून रहेको उहाँको भनाइ छ। ‘जिल्ला नेतृत्वसँग असन्तुष्ट भएर निष्क्रिय बसेका धेरै साथीहरू अहिले पार्टी जिताउन एकजुट भएका छन्,’ सुनुवारले उल्लेख गर्नुभयो।

त्यसैगरी, एमाले जिल्ला संयोजक हर्कबोल राईले पार्टीभित्र ठूलो विद्रोह भएको भन्ने चर्चा निराधार रहेको बताउँदै नौ जनामात्रै पार्टीबाट बाहिरिएको दाबी गर्नुभयो। तीन जना निर्वाचित वडाध्यक्षलाई स्पष्टिकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए निर्वाचन आयोगमार्फत पदमुक्त गर्ने प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा केन्द्रीय सल्लाहकार किशोर अधिकारी, प्रदेश कमिटी सचिवालय सदस्य नानीबाबु बुढाथोकी, मोहन श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो।