अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङ-६ का एमाले उम्मेदवार विनोद ढकालको प्रतिवद्धता: सडक, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई पहिलो स्थानमा राखेर योजनाबद्ध रूपमा काम गर्नेछु

मोरङ-६ का एमाले उम्मेदवार विनोद ढकालको प्रतिवद्धता: सडक, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई पहिलो स्थानमा राखेर योजनाबद्ध रूपमा काम गर्नेछु


विराटनगर- मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका-६ बौराहामा सडक, खानेपानी, स्वास्थ्य, रोजगारी र कृषि जस्ता आधारभूत समस्या अझै समाधान हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन्। 

मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य निर्वाचनका नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालले ती समस्या समाधानलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ।

बुढिगंगा गाउँपालिका–६ बौराहामा उम्मेदवार ढकालसँग स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणबिच भएको अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र युवाको भविष्यसँग सम्बन्धित सवाल उठाइएका थिए। सहभागीहरूले स्थानीय आवश्यकता र समस्यालाई नीति तथा योजनामार्फत समाधान खोजिनुपर्नेमा जोड दिएका थिए।

अन्तरक्रियामा उम्मेदवार ढकालले जनताको आवाज नै आफ्नो प्राथमिकता भएको उल्लेख गर्दै विकासको केन्द्र जनता नै भएकाले यहाँ उठेका सुझाव र प्रश्नलाई आगामी योजनामा समेटिने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र युवाको सशक्तीकरणमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ढकालले बुढीगंगा क्षेत्रको समग्र विकासका लागि स्थानीय आवश्यकता अनुसार कार्यक्रम अघि बढाइने स्पष्ट पार्नुभयो। करिब ४० वर्षदेखि मोरङका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उहाँले जनतासँग सजिलै भेटघाट गर्न सकिने र जनजीवनसँग जोडिएको जनप्रतिनिधिको रूपमा आफू स्थापित भएको बताउनुभयो। आगामी दिनमा पनि मोरङ क्षेत्र नं. ६ का विकासका मुद्दा सशक्त रूपमा उठाइने उनले प्रतिबद्धता जनाउनुभयो।

स्थानीयवासीका अनुसार बौराहाका अधिकांश भित्री सडक कच्ची रहेकाले वर्षा याममा हिलो र हिउँदमा धुलोका कारण आवतजावत कठिन हुँदै आएको छ। नाली, सडक बत्ती र पुल–पुलेसाको अभावले दैनिक जीवन प्रभावित भएको उनीहरूको भनाइ छ। सुरक्षित खानेपानी सबै घरधुरीमा सहज रूपमा नपुग्दा स्वास्थ्य जोखिमसमेत बढ्दै गएको छ।

स्वास्थ्य सेवामा पहुँचको अभाव यहाँको अर्को प्रमुख समस्या हो। नजिकैको स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण र जनशक्ति नहुँदा सामान्य उपचारका लागि पनि विराटनगर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन्। स्थानीय स्तरमा रोजगारीका अवसर सीमित हुँदा अधिकांश युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्।

कृषि बौराहाको मुख्य पेसा भए पनि सिँचाइ सुविधा, आधुनिक प्रविधि र बजार व्यवस्थापन कमजोर रहेको किसानको गुनासो छ। उत्पादनको उचित मूल्य नपाउँदा किसान निरुत्साहित हुँदै गएका छन्। शिक्षा क्षेत्रमा पनि विद्यालयको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षण सामग्री र दक्ष शिक्षकको अभाव देखिन्छ।

यी सबै समस्यालाई सम्बोधन गर्दै उम्मेदवार विनोद ढकालले बौराहाको समग्र विकासका लागि स्पष्ट योजना अघि सारेका छन् । ‘बौराहाको विकास मेरो प्राथमिकता हो। सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीलाई पहिलो स्थानमा राखेर योजनाबद्ध रूपमा काम गर्नेछु,’ ढकालले भने ।

स्थानीयवासीहरूले ढकालको पहुँच, संवादमुखी स्वभाव र विकासप्रतिको प्रतिविद्धताप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । बौराहामा दिगो विकास र जनमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा ढकाललाई समर्थन गर्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।