काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चुनावी अभियानका लागि गृहजिल्ला झापा पुग्नुभएको छ। अध्यक्ष ओली आज यति एयरलाइन्सको विमानमार्फत भद्रपुर झापा पुग्नुभएको हो। यसअघि उम्मेदवारी दर्तापछि माघ १० गतेसम्म घरदैलो कार्यक्रम गरेका थिए।
अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत पार्टीका नेता–कार्यकर्ता र युवाहरूको ठूलो उपस्थितिमा भव्य स्वागत गरिएको थियो।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नाति पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लाग्ने बताउनुभयो। अध्यक्ष ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै राजनीति सिक्छु भनेर आफूसँग भिड्न आउँदैमा नराम्रो मान्न नपर्ने बताउनुभययो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मसँग भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु, खुसी लाग्छ। नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले राजनीति सिक्छ भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’
अध्यक्ष ओलीले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पार्टीको जित पक्का भएको दाबी गर्नुभयो। उहाँले झापा ‘ओलीमय’को जिकिर गर्नुभयो। झापाका मतदाता एमालेको पक्षमा रहेको बताउँदै ओलीले भन्नुभयाे, ‘सूर्यको जीत सियोर छ।’
चुनावी अभियान र माहोलबारे चर्चा गर्दै अध्यक्ष ओलीले यसपटक युवाको उत्साहजनक सहभागिता रहेको सुनाउनुभयाे। युवा स्वतःस्फूर्त रूपमा सूर्यलाई जिताउन प्रचारप्रसारमा लागेको उहाँको भनाइ थियो। नयाँ पुस्ता राजनीतिमा आउनु र सिक्न खोज्नु सकारात्मक भएको टिप्पणी गर्नुभयाे।
सत्य र विकासको पक्षमा जनता रहेकाले कुनै पनि षड्यन्त्रले एमालेको जितलाई रोक्न नसक्ने उहाँको भनाइ थियो।






प्रतिक्रिया