अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई भूमिहीनको आग्रहः फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्

एमाले अध्यक्ष ओलीलाई भूमिहीनको आग्रहः फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्


झापा-झापाको कमल गाउँपालिकामा रहेका भूमिहीनहरूले आफ्नो समस्या समाधान गर्न नेकपा एमाले बाहेक अन्य विकल्प नरहेको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको भेटमा उनीहरूले भूमिसम्बन्धी समस्या समाधानका लागि एमालेकै नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन्।

भेटका क्रममा उनीहरूले आगामी दिनमा पनि निर्वाचन जितेर आफूहरूलाई जग्गाको धनीपुर्जा उपलब्ध गराइदिन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए। जवाफमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा बसोबाससम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेर काम सुरु गरे पनि सरकार परिवर्तनसँगै ती प्रयासहरू अवरुद्ध हुने गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामी आयोग गठन गरेर काम सुरु गर्छौँ, तर अरू सरकार आएपछि त्यसलाई भत्काइदिन्छन्। काम त आखिर हामीले नै गर्नुपर्ने हो।’

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं। ५ का उम्मेदवारसमेत रहनु भएका अध्यक्ष ओलीले शनिबार कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयसँग भलाकुसारी गर्नुभएको थियो। सो क्रममा स्थानीयबासीहरूले एमाले र ओलीकै नेतृत्वमा गाउँको मुहार फेरिने गरी विकासका कामहरू अघि बढेको बताएका थिए।

स्थानीयबासीहरूले एमाले र अध्यक्ष ओलीको कुनै विकल्प नरहेको उल्लेख गर्दै अधुरा विकास योजनाहरू पूरा गर्न फेरि पनि निर्वाचन जिताउने बताएका छन्।