अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली टोलीलाई जितको शुभकामना दिँदै अध्यक्ष ओलीले भन्नुभयाे– नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्नेछ

नेपाली टोलीलाई जितको शुभकामना दिँदै अध्यक्ष ओलीले भन्नुभयाे– नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्नेछ


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिनुभएकाे छ।

सामाजिक सञ्जालमा शुभकामना सन्देश राख्दै अध्यक्ष ओलीले विश्वकप खेल्न लागेका नेपाली खेलाडीहरूलाई जितको शुभकामना दिनुभएकाे हाे ।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘अहिले मुम्बईमा टी–२० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु, हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो । त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घुमिरहेका छन् । खेलाडीहरुको मेहनत र पसिनाका लागि हामीले रंगशाला जस्तै पूर्वाधार निर्माण गरेर तिर्नुपर्छ, सहयोग पुर्‍याउनुपर्छ।’

नेपाली खेलाडीहरुलाई मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका नेपालीहरूको समेत साथ रहेको अध्यक्ष ओलीले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘तपाईंहरूको साथमा मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका समेत नेपालीहरूको साथ छ, हामी तपाईंहरूका साथमा छौँ । विपक्षी जतिसुकै बलियो होस्, तपाईंहरूले विपक्षीको हिसाब गर्ने होइन, आफूमा कुनै प्रकारको हिनताबोध ग्रन्थ पलाउन दिने होइन,नेपाली युवाको रगत र आत्मविश्वास तपाईंहरुसँग छ । उचाई चढ्दै गरेको श्रृखला तपाईंहरुको साथमा छ ।’

अध्यक्ष ओलीले नेपालले यसपटक नयाँ कीर्तिमान रच्ने विश्वास व्यक्त गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘प्रिय क्याप्टेन रोहित पौडेलको नेतृत्वको नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्नेछ र नेपालको शिर ठाडो बनाउनेछ ।’ हार जित खेलको पाटो भए पनि जित्ने उद्देश्यका साथ मैदान उत्रिनुपर्नेमा उहाँले जोड दिनुभयाे ।

विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आज नेपालले विश्वविजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ ।