बिर्तामोड-प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले सामाजिक मर्यादा र लोकतान्त्रिक संस्कार जोगाउनु सबैको दायित्व रहेको बताउनुभएकाे छ।
केही दिनअघि अर्जुनधारामा मन्तव्य दिइरहेका बेला पर्खाल बाहिरबाट एक महिला र नवजात शिशुले आफूलाई नियालिरहेको तस्बीर देखेपछि मनमा धेरै कुरा आएको उल्लेख गर्दै घिमिरेले समाजप्रति जिम्मेवारी बोध गर्नुपर्ने बताउनुभयाे।
उहाँका अनुसार नेपाली समाज दुई देखि चार पुस्तासम्म मिलेर बस्ने परम्परामा आधारित छ, जहाँ ठूलालाई आदर गर्ने र सानालाई माया गर्ने संस्कारले समाजलाई जोडेर राखेको छ। ‘हाम्रो समाज विभिन्न जातजाति, भाषा र संस्कृतिले बनेको छ। यही विविधताभित्र आपसी सम्मान नै हाम्रो पहिचान हो,’ उहाँले भन्नुभयाे।
एक उम्मेदवार र जनप्रतिनिधिका रूपमा आफ्नो जीवन सबैका लागि खुला किताब जस्तै भएको उल्लेख गर्दै उहाँले सबै उमेर समूहका नागरिकले आफूलाई नियाल्न सक्ने बताउनुभयाे। ‘महिला र नवजात शिशुले जसरी मलाई हेरिरहेका थिए, त्यसरी नै समाजका सबै वर्गले जनप्रतिनिधिलाई नियालिरहेका हुन्छन्,’ उहाँले स्पष्ट पार्नुभयाे।
तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र सार्वजनिक जीवनमा ज्येष्ठ व्यक्तित्वलाई अपमान गर्ने, घृणात्मक अभिव्यक्ति दिने र होच्याउने प्रवृत्ति बढेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयाे ‘राजनीतिमा घृणा मिसिएका कठोर शब्द प्रयोग गर्नेहरूलाई समर्थन बढ्दै जानु लोकतन्त्रका लागि राम्रो संकेत होइन,’ उहाँले भन्नुभयाे । आफ्नो इनबक्समा आएका प्रश्नहरूलाई सकेसम्म जवाफ दिइरहेको तर कतिपय टिप्पणी सभ्य समाजमा बोल्न, सुन्न र लेख्नै नसकिने खालका रहेको उहाँले बताउनुभयाे।
निवर्तमान सभामुख घिमिरेले निर्वाचन आउँछन् र जान्छन्, पुस्ता फेरिन्छन् तर लोकतन्त्र र सामाजिक सम्बन्धलाई कसिलो बनाउने जिम्मेवारी सधैं सबै नागरिकको हुने उल्लेख गरेका छन् । ‘चुनाव मात्र होइन, हाम्रो व्यवहार, बोली र लेखाइले पनि लोकतन्त्र बलियो वा कमजोर बनाउँछ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ।






प्रतिक्रिया