काठमाडौं-काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताउनुभएकाे छ।
सार्वजनिक यातायात प्रणाली विकास तथा सुधारमा काम गरिरहेका संघसंस्था, विज्ञ तथा सम्बन्धित निकायका अधिकारीहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले सहभागितामूलक र साझेदारितामूलक संयन्त्रमार्फत काम गर्नुपर्नेमा जोड दिनुभएकाे हाे।
आइतबार आयोजित छलफलमा भन्नभयाे, ‘काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ। यस्तो परिस्थितिमा किशोरी तथा महिलाले चरम दुव्र्यवहार भोग्नुपरेको छ। यी समस्यामा तत्काल सुधार नगरी हुँदैन।’
उहाँले काठमाडौंको सार्वजनिक यातायात प्रणालीलाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो बनाउने लक्ष्यसहित सोच र योजना चरणदेखि नै विज्ञ तथा सरोकारवालासँग छलफल गर्न महानगरपालिका खुला रहेको स्पष्ट पार्नुभयाे।
आइतबार विश्व बैंकका प्रतिनिधिसँगको छलफलमा कार्यवाहक प्रमुख डंगोलले स्थानीय आवश्यकता र अवस्थाअनुसारको सार्वजनिक यातायात प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै भन्नुभयाे, ‘हामी हाम्रै सन्दर्भका अध्ययनले दिएका तथ्यका आधारमा काम गर्छौँ ।’ यसैदिन संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्का प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीसँग पनि भेटघाट भएको थियो । भेटमा परिषद्ले हालसम्म गरेको काम, तयार पारेका योजना तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो । छलफलका क्रममा जीआईएस सर्भिस, स्मार्ट ट्राफिक मोनिटरिङ प्रणाली, एकीकृत एप्लिकेसन, तथ्य तथा तथ्याङ्क संकलन र रुट व्यवस्थापन लगायत विषयमा विचार विमर्श भएको थियो।
यसअघि साझा यातायातका अधिकारीहरूसँग भएको छलफलमा पाटन अस्पतालदेखि विभिन्न प्रमुख अस्पतालहरू जोड्ने सेवा तथा कलंकीदेखि त्रिपुरेश्वर, माइतीघर, बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म रात्रीकालीन विद्युतीय बस सञ्चालनको सम्भावनाबारे पनि कुराकानी भएको थियो ।
छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, ट्राफिक विज्ञ जगतमान श्रेष्ठलगायत अधिकारीहरूले पृष्ठपोषण गरेका थिए ।
महानगरपालिकाले वातावरणमैत्री र यात्रुमैत्री सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यसका लागि सूचना प्रविधिमा आधारित क्यासलेस एकीकृत यातायात प्रणाली, वास्तविक समयमा सूचना दिने प्रणाली, बस बिसौनी तथा सार्वजनिक शौचालय निर्माण, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति तथा साइकल यात्रीमैत्री सडक व्यवस्थापनलाई चुनौतीका रूपमा लिएको छ ।






प्रतिक्रिया